
गत मंगलबारदेखी सरकारले लामो दुरीका सार्वजनिक गाडीमा २८ प्रतिशत भाडादर बढाउने निर्णय गरेको छ । अन्तर प्रदेश स्तरिय चल्ने लामो दुरीका सार्वजनिक यातयातको भाडा बढाउने निर्णय गरेकोे हो ।
भाडा बढाउन पाउने जिल्लाहरुको नामै तोकेर निर्णय गरेको भएपनि धादिङका बस व्यवसायीले मनोमानी ढङ्गले नयाँ भाडादर लागु गरेको छ । धादिङका बस व्यवसायीले साउन १ गतेदेखी लागू हुने गरि २८ प्रतिशत वृद्धि गर्दै नयाँ भाडा दर कायम गरेको छ ।
धादिङको सबै क्षेत्रमा चल्ने साविकको भाडा दरमा २८ प्रतिशत वृद्धि गर्दै नयाँ भाडादर कायम गरेको ग्रामिण यातायात सहकारी संस्था लिमिटेडले जनाएको छ । २०७१ सालदेखी भाडादर समायोजन हुन नसकेकोमा गत मंगलबार सरकारले २८ प्रतिशत भाडादर बढाउने निर्णय गरेको थियो ।
धादिङका सवारी चल्ने सबै रुटहरुमा वृद्धि भएको भाडादर लागू हुने ग्रामिण यातायात सहकारी संस्था लिमिटेडका महासचिव वद्री प्रसाद सुवेदीले बताउनुभयो । लामो समयदेखी भाडादर समायोजन नभएको, तेलको मुल्यमा वृद्धि, गाडीका कर्मचारीको तलवमा वृद्धि, गाडीका पाटपुर्जाको मुल्यमा वृद्धि भएका कारणले २८ प्रतिशत वृद्धि भन्दा पनि समायोजन गरिएको महासचिव सुवेदीले बताउनुभयो ।
प्रति किलोमिटर २ रुपैया ९६ पैसा भाडादर कायम गर्ने सरकारको मापदण्ड अनुसार भाडादर समायोजन भएको सुवेदीले दावी गर्नुभयो । सबै चिजमा मुल्य वृद्धि भएकाले सबै क्षेत्रलाई समेटेर भाडादर समायोजन गरिएको सुवेदीले बताउनुभयो ।
यता धादिङका बस व्यवसायीले २८ प्रतिशत वृद्धि गरेर समायोजन गरेको मुल्य प्रति भने यात्रुहरुले गुनासो गरेका छन् । प्रति किलोमिटर २ रुपैयाँ ९६ पैसा सरकारले मापदण्ड तोकेको भएपनि धादिङका बस व्यवसायीहरु सरकारको मापदण्ड विपरित मुल्य सामायोजन गरेको भन्दै गुनासो गरेका हुन् ।
पछिल्लो मुल्य समायोजनको विषयलाई लिएर यात्रुहरुले गुनासो गरेका छन् । २८ प्रतिशत भाडादर वृद्धि भएपछि धादिङवेशींदेखी ससाह सम्मको भाडा २५ रुपैयाँ कायम भएको छ । काठमाण्डौंबाट ससाह आउँदा २ सय ३० रुपैयाँ तोकेको छ तर काठमाण्डौं धादिङबेसी आईपुग्दा २३५ भाडादर कायम गरेको छ । मुल्य समायोजनलाई आधार मान्ने हो भने काठमाण्डौं ससाह आउँदा २५ रुपैया घटाएर २ सय १० हुनुपर्ने होईन र ? भन्नुहुन्छ, निलकण्ठ ८ ससाहका प्रकाश तामाङ ।
यो विषयमा ग्रामिण यातायात सहकारी संस्था लिमिटेडका महासचिव सुवेदीले भने स्टेट मिलाउँदा यस्तो भएको बताउनुहुन्छ ।
यसअघि धादिङबेशी–काठमाडौं भाडा १८५ थियो, २८ प्रतिशत भाडा वृद्धि भएपछि हाल समायोजनबाट हुन आउने रकम २३६.८० भएपनि २३५ मात्रै कायम गरिएको ग्रामिण यातायात सहकारी संस्था लिमिटेडले जनाएको छ ।
धादिङमा आधिकारीक रुपमा दर्ता भएर यातयात संञ्चालन गर्ने ५ ओटा यातयात व्यवसायी रहेका छन् । जिल्लामा ग्रामिण यातयात सहकारी संस्था लि., मण्डली यातयात प्रा.लि, ग्रामिण यातयात प्रा.लि. धादिङ माईक्रो प्रा.लि र संयुक्त यातयात प्रालि रहेका छन् ।
यस्तै मुल्य समायोजन भएपछि डिलक्सको २५० बाट बढेर २ सय ९० भएको छ, माईक्रोको २ सय २० रुपैयाँबाट बढेर ३ सय रुपैया पुगेको छ । सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
मुल्य वृद्धि तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारी धादिङको माग
यातायात व्यवसायीहरुले निर्धारण गरेको नयाँ भाडादर फिर्ता गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी धादिङले माग गरेको छ ।
शनिबार एक विज्ञप्ति नै निकालेर भाडा मनलाग्दी ढंगले बृद्धि गरेको पाईएकोले तत्काल बृद्धि गरेको भाडा शुल्क फिर्ता गर्न अपिल गरेको हो ।
सरकारले साउन १ गतेदेखि लागु हुने गरि भाडादर समायोजन गरेको भएपनि कोरोनाको समयमा, कतिले रोजगारी गुमाएको, आर्थिक अवस्था कमजोर भएको समयमा २८ प्रतिशत भाडा वृद्धि गर्नु गरिब जनता मार्ने निर्णय भएकोले यो निर्णय तत्काल फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउन विज्ञप्ति निकालेको अखिल क्रान्तिकारी धादिङका जिल्ला संयोजक उपेन्द्र जमकट्टेलले बताउनुभयो ।