बिर्तामोडमा ३ करोडको लागतमा गुरुङ जातिको संग्रहालय बन्ने भएको छ । गुरुङ जातिको पहिचानका लागि बिर्तामोड ३ स्थित बुद्धनगरमा गुरुङ जातिको मौलिक भेषभूषा , प्राचीन सरसामान संग्रहित गर्ने उद्धेश्यले संग्रहालय निर्माण गरिने भएको हो ।
तमु ह्युल छोंज धीं गुरुङद्वारा निर्माण गरिने संग्रहालयको आज बुधबार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गर्नुभएको हो । तीन तलाको बन्ने भवनमा भुइँतलामा सभाहल , पहिलो तलामा कार्यालय र बैठक कक्ष तथा माथिल्लो तलामा संग्रहालय रहने निर्माण समितिका अध्यक्ष कुमार गुरुङले बताउनुभयो ।
कुमार गुरुङको अध्यक्षतामा ९ सदस्यीय संग्रहालय निर्माण समिति बनाइएको छ । तमु ह्युल छोंज धीं नगर समितिको आफ्नै दुई कठ्ठा जग्गामा सो संग्रहालय बन्ने भएको हो । संग्रहालय निर्माणका लागि बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । अन्य बजेट दाता महानुभावहरुबाट संकलन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।











