‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नारासहित धादिङमा पनि साउन १७ गतेदेखि २९ औँ विश्व स्तनपान सप्ताह मनाईरहेको छ । विश्व स्तनपान दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने सरकारको निर्णय अनुरुप धादिङमा पनि विभिन्न कार्यक्रम गरेर विश्व स्तनपान दिवश मनाईरहेको छ ।

स्वास्थ्य कार्यालय धादिङले बुधबार पत्रकार भेटघाट कार्यक्रम गरि साउन १७ गतेदेखि सुरु भएको स्तनपान सप्ताह २३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको हो । आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्वको बारेमा समुदायमा सुसुचित गर्ने कार्यक्रमको उद्देश्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

कार्यक्रममा स्तनपानको विशेषता, अवस्था, लक्ष्य र सञ्चारमाध्यमको भुमीकाको बारेमा छलफल गरिएको थियो । आमाको पहिलो दुध बाक्लो र पहेलो हुन्छ, जसमा बच्चालाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्न र मस्तिष्क विकास गर्न मद्दत गर्ने प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन अम्बिका पाण्डेले बताउनुभयो । बच्चा जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दुध बाहेक अरु कुनै झोल कुराहरु पानी पनि दिन जरुरी नहुने र यदि खुवाएमा बच्चालाई झाडापखाला लाग्ने सम्भावना हुने हुन्छ । त्यसैले बच्चालाई आमाको दुध नै खुवाउनु पर्ने फोकल पर्सन अम्बिका पाण्डेले बताउनुभयो ।

हरेक सेवा प्रदायक कार्यालयहरुमा स्तनपान कक्ष स्थापना गर्नु पर्ने र विस्तारै स्तनपान कक्ष पनि स्थापना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा सन् २०१६ सालको स्तनपानको तथ्याङक अनुसार १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।

त्यस्तै सन् २०१९ मा गरिएको सर्बे अनुसार २२ प्रतिशत रहेकोमा धादिङ जिल्लामा १ घन्टाभित्र स्तनपान गराउनेको संख्या निकै कम छ । तर जिल्लामा स्तनपान गराउनेको संख्या भए पनि रेकड नभएका कारण तथ्याङ्कमा कमि आएको फोकल पर्सन अम्बिका पाण्डेको भनाई छ । स्तनपान दिवस नेपालमा १९९२ देखि हरेक बर्षको अगष्ट १ देखि ७ सम्म मनाइदै आएको छ ।

यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ डुकराङको, डुकराङ लालिगुराँस पोषण समुहले पनि विश्व स्तनपान दिवश मनाएको छ ।

कार्यक्रममा आमाले बच्चालाइ स्तनपान गराउने तरिका, सहि आसन, सम्पकृ गराउने तरिका लगायतका विषयमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सहजकर्ता शान्ति छत्कुलि र पूर्ण चेपाङले जानरकी गराउनुभएको थियो । कार्यक्रममा स्तनपान सम्बन्धि पोषण समुहको सदस्य र अन्य स्थानियहरु गरि ३० जनाको उपस्थिति रहेको थियो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखा मार्फत संचालित फोकस नेपालको सहजिकरणमा बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिलाई कार्य क्षेत्र बनाई पोषण सम्बन्धी कार्यक्रम संञ्चालनरत छ । पोषण समुहको हजार दिनको बच्चाको आमाले आफ्नो बच्चालाइ पर्याप्त मात्रामा दुध खुवाउन र कुपोषण बाट बचाउने उद्देश्यले कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले आफुले सिकेका ज्ञान समुदायको अन्य व्यक्तिलाइ पनि सिकाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Facebook Comments