
सरकारले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवाआयोगको अध्यक्ष र दुई जना सदस्यलाई नियुक्त गरेको हो । आयोगको अध्यक्षमापूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यहरूमा पूर्वसहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जन रहनुभएको छ । पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ ।
आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले पदाधिकारीको पद बहालीसँगै स्थायी पदपूर्ति, बढुवा र लाइसेन्स परीक्षाको काम सुरु हुने बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको छैन ।