२२ साउन, धादिङ । हिजोदेखि सुरु भएको नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रिय कमिटिको बैठक आज सम्पन्न भएको छ । बैठकले विघटित कार्यदलले तयार गरेको १० बुँदे सहमतिले, एकताको आधार तयार पारेको भन्दै सहमतिको लागि थप प्रयास गर्ने निर्णय गरेको छ । साथै सबैलाई पार्टी एकताको पक्षमा जोड दिन अनुरोध गरेको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन बिहिबार २३ जना र दोस्रो दिन शुक्रबार ३२ जना गरी जम्मा ५५ जना केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राखेको थियो ।

बैठकमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार दुई दिनसम्म बसेको बैठकमा पार्टीभीत्रको आन्तरीक समस्या समाधान, आन्तरीक पर्टी एकता र पार्टी अध्यक्ष केपी शर्मा ओलीका आगामी रणानीति, कदम र निर्णय अनुसार माधव नेपाल पक्षले पनि भावी योजना र रणनीति तय गर्नेबारे छलफल भएको बताएको छ । यता अध्यक्ष केपी ओलीले पनि यहि साउन २४ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ । बैठकबाट के निर्णय हुन्छ त्यही अनुसार आगामी बाटो तय गर्ने विषयमा छलफल भएको खतिवडाले बताएको हो । पार्टीको संस्थापन पक्षले यस अघि आगामी पार्टीको दशौं राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन, विभिन्न स्थानीय स्तरको अधिवेशन र पार्टी सदस्यता नविकरणका साथै पार्टीको विभागहरु पनि गठन गरेको छ ।
सम्मानजनक एकताको पक्षमा छौ, आन्तरीक पार्टी एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हुनु हो रघुजित पन्तले भने । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए । बैठकलाइ सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै, केपी ओलीले जति गाली गरे पनि आफूहरू पार्टी एकताबाट नभाग्ने बताउनुभएको थियो ।