भदौ २०, धादिङ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय र सिफारिस गरेसँगै, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को भदौ १९ को सिफारिसमा भदौ २३ गते बुधबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने प्रचलन रहेको छ ।

वर्तमान सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश बमोजिम भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोजेपछि अध्यादेश संसदमा टेवल नगरी निष्क्रिय बनाउने सरकारको तयारी रहेको छ । यो अध्यादेश कायम रहदा संसदमा पेश गर्नुपर्ने र संसदमा सत्ता गठबन्धनको बहुमतले पारित गर्दा भविष्यमा २० प्रतिशत सांसदले आफ्नै दल विभाजन गर्ने खतरा रहेकाले अध्यादेश निष्क्रिय गरेर संसद बोलाउन लागिएको हो । अध्यादेश निष्क्रिय बनाएरमात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी सत्ता गठबन्धनको छ । साथै संसदबाट बजेट प्रतिस्थापन बिधेयक ल्याएर पारित नगरे विकास खर्च र प्रसाशनिक तथा कर्मचारी तलब समेत खुवाउन नसकिने भएपछि सरकारलाई संसद बोलाउनै पर्ने बाध्यता अनुसार नै अधिवेशन आह्वान गरिएको हो ।

शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले यस अघि ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशले, नेकपा (एमाले) र जसपा टुक्रिएर, माधव कुमार नेपालका नेतृत्वमा नेकपा एकिकृत समाजवादी र महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी  नेपाल गठन भईसकेको छ ।

Facebook Comments