२२ असोज, धादिङ ।
सत्तागठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा मिलेसँगै आज साँझसम्म मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । बिहीबार बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हो । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।
सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ वटा मन्त्रालय पाउने भएको छ । कूल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी कुल ११ जनाको उपस्थिती रहने भएको छ ।

सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, गृह, कानुन, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । यसैगरी माओवादीले अर्थ, उर्जा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने सहमति भएको छ । नेकपा माओवादीले सरकारमा पठाउने व्यक्तिका नाम टुङ्ग्याएको छ । तर कसले कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लगेको छैन । अन्य दलले भने सरकारमा सहभागी गराउने मन्त्रीको नामको बारेमा अझै छलफल जारी रहेको बताएको छ ।
विहिबारको बैठकले माधव कुमार नेपाल र उपेन्द्र यादवको असन्तुष्टिलाइ सम्बोधन गर्दै जसपालाई उपसभामुख र एकीकृत समाजवादीलाई प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको छ । यस अघि मंगलबारको बैठकमा माधव कुमार नेपालले आफूलाई पाँच मन्त्री र एक राज्यमन्त्री नदिए प्रदेश एक र बागमती प्रदेशको मुख्यमन्त्री दिनुपर्ने अडान लिएको थियो ।
गत २९ असारमा प्रधानमन्त्रीको सपथ लिनुभएको प्रधानमन्त्रि शेर बहादुर देउवाले झण्डै ३ महिना पुग्न लाग्दा मन्त्रिमण्डललाइ पूर्णता दिन लाग्नु भएको हो । सत्तागठबन्धन भित्रको आन्तरिक समस्याका कारण मन्त्रिमण्डललाइ पूर्णता दिन नसक्दा प्रधानमन्त्रि शेर बहादुर देउवाको चौतर्फी आलोचना भइरहेको छ ।