कार्तिक २, धादिङ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो काम तोकिएकै समयमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गराउनु रहेको बताउनुभएको छ । मंगलबार सदरमुकाम धादिङबेसीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले नेपाली कांग्रेसले नियमित रुपमा सम्पन्न गर्नुपर्ने महाधिवेशन नेतृत्वको अनिच्छा, शक्ति र सत्तामा रहिरहने ट्रम्प प्रवृतिका कारण पार्टीको विद्यान र संविधान अनुसार महाधिवेशन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

साथै आगामी महाधिवेशनबाट पार्टीलाइ रुपान्तरण गरी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गराउने दायित्व आफ्नो कांधमा आएको पनि बताउनुभयो । वरिष्ठ नेता पौडेलले आगामी मंसिरमा हुने महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सहमतिमा नै साझा उम्मेद्धार तय गरिने बताउनुभयो । सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरुलाइ सक्रिय रुपमा पार्टी निर्माण र रुपान्तरण अभियानमा लाग्न आग्रह गर्नुभयो ।

आगामी मंसिरमा नेपाली कांग्रेसको महाधिवेशन हुन नसकेको अवस्थामा नेपाली कांग्रेस पार्टी नै असंवैधानिक हुनेछ । अर्को एक प्रसंगमा वरिष्ठ नेता पौडेलले बाहिर समाचारहरुमा आए जस्तो अहिले अर्लि इलेक्शनको कुनै सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोईराला नेपाली कांग्रेस धादिङका पूर्व सभापती रामनाथ अधिकारीका आमाको निधन प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिन अधिकारी निवास नीलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थित तल्लोबेसीमा आउनुभएको थियो ।

अधिकारीका आमा टिकादेवी अधिकारीको गत असोज २८ गते निधन भएको थियो । साथै नेपाल प्रेस यूनियन धादिङको आयोजनामा सदरमुकाम धादिङबेसी स्थित पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments