कार्तिक २५, धादिङ ।

‘मेरो गणना मेरो सहभागीता ‘ भन्ने मूल नारा सहित आजबाट राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । हरेक  १०/ १० वर्षमा हुने जनगणना यस वर्ष आज २५ कात्तिकदेखि सुरु भई अगामी ९ मंसिरसम्म चल्ने छ । धादिङ जिल्लामा पनि नेपाल सरकारको निर्णण अनुसार जनगणनाको तथ्याङ संकलनको काम सुरु भएको जिल्ला जनगणना कार्यालय धादिङका प्रमुख णराज तिवारीले जानकारी दिनुभयो । जनगणनाको पहिलो चरणमा जिल्लाका करिब ८१ हजार घर तथा घरपरिवारको सूचीकरण गरिएको र त्यसबाट करिब ३ लाख ४० हजार मानिसको तथ्याङक संकलन गरिने भएको छ । धादिङ जिल्लामा १ सय २८ जना सुपरिवेक्षक र ५ सय ३० जना गणकहरु परिचालन गरिएको पनि तिवारीले जनकारी दिनुभयो ।

जिल्ला जनगणना कार्यालय धादिङले यस कार्यक्रमलाइ व्यवस्थित र प्रभावकारी बनाउन ५ वटा स्थानीय जनगणना कार्यालयहरु स्थापना गरि कार्यसम्पादन गरिरहेको छ । स्थानीय जनगणना कार्यालय धादिङबेसीले नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकामा काम गर्छ भने खानीखोला स्थानीय जनगणना कार्यालयले धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका, गजुरी स्थानीय जनगणना कार्यालयले गल्छी, गजुरी र वेनीघाट रोराङ गाउँपालिका, फूलखर्क स्थानीय जनगणना कार्यालयले रुवीभ्याली, खनियाबाँस, र गंगाजमूना गाउँपालिका, त्यसैगरि सल्यान्टार स्थानीय जनगणना कार्यालयले नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिका क्षेत्र भित्र काम गर्दछ । जिल्ला जनगणना कार्यालय धादिङका प्रमुख णराज तिवारीले सहि सत्य तथ्य विवरण उपलब्ध गराई राष्ट्रिय जनगणना २०७८ सफल बनाउन सबै जिल्लाबासीहरुमा सहयोगको लागि अनुरोध गर्नुभएको छ । यदि कहि कसैको तथ्याङक संकलन छुटेमा राष्ट्रिय जनगणना कार्यालयको टोल फ्री नम्बर ११७८ मा फोन गरेर पनि तथ्याङक संकलन गराउन सकिने जनकारी दिनुभयो ।

नेपालको पहिलो जनगणना बिक्रम संबत १९६८ मा गरिएको थियो। यद्यपि नेपालको पहिलो आधुनिक जनगणना बिक्रम संबत २००९/ ११ मा सम्पन्न भएको थियो जस्मा करीब ८० लाख जनसंख्याको गणना गरिएको थियो। पछिल्लो बि.सं. २०६८ मा सम्पन्न गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको गणना गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ को समग्र लक्ष्य देशको नयाँ संघीय संरचना अनुसार संघीय, प्रादेशिक र स्थानीयतह स्तरका लागि विभिन्न क्षेत्रगत नीति निर्माण र योजना तर्जुमाको लागि उच्च गुणस्तरको जनसंख्या र आवासको तथ्याङ्क समयमै उपलब्ध गराउनु रहेको छ । राष्ट्रिय जनगणना २०७८ ले जनसंख्याको गतिशीलता र सामाजिक विशेषताहरूको परिवर्तनलाई नीतिहरु, विकास कार्यक्रमहरु र योजनाहरुमा राम्रोसँग समाहित गर्न मद्दत गर्दछ । यसका अतिरिक्त, दिगो विकास लक्ष र ’जनसंख्या र विकासको अन्तराष्ट्रिय सम्मेलन कार्यान्वयनका एजेन्डाका लागि सूचना उपलब्ध गराउन राष्ट्रिय जनगणनालाई एक महत्वपूर्ण साधनको रुपमा लिन सकिन्छ  ।

जनगणनाको तथ्याङ, विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् । काठमाडौं जिल्लामा डिजिटल पद्दतिमा आधारित क्यापविधि प्रयोग गरी ट्याबलेटबाट र अन्य जिल्लाहरुमा कागजी प्रश्नावली प्रयोग गरी विवरण संकलन गरिएको छ । यसै गरि भारतीय सेनाको नियन्त्रणमा रहेको नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।

 

Facebook Comments