मंसिर २, धादिङ ।
नेपालमा सन् १९३४ मा बेलायतको लण्डनमा नेपाली दूतावास स्थापना भएपछि हस्तलिखित राहदानीको सुरुवात गरेको थियो । नेपालले सन् २०१० मार्च ३१ सम्म हस्तलिखित राहदानी जारी गर्ने गरेको थियो । सन् २०१५ नोभेम्बरदेखि हस्तलिखित राहदानी हटाएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले बाध्यकारी बनाएपछि नेपालले पनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न थाल्यो । नेपालले हालसम्म ७० लाख भन्दा बढि (एमआरपी) पासपोर्ट वितरण गरेको छ ।

हाल विश्वका १५० भन्दा धेरै देशले ई–पासपोर्ट प्रयोगमा ल्याएको छ । नेपालको राहदानी विभागले पनि (बुधबार) देखि परीक्षणका रूपमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरस्थित भवनमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले संस्कृतिविद एवम शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट हस्तान्तरण गरेको हो । मन्त्री खडकाले नेपाल सरकार विदेशमा नेपाली पासपोर्टको सम्मान बढाउन र विश्वभर नेपालको राहदानी विश्वसनिय हुने पनि बताउनुभयो । राहदानी विभागका अनुसार हाल जारी भईरहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भन्दा  ई–पासपोर्ट थप गुणस्तरयुक्त, सुरक्षित, भरपर्दो र विश्वभर प्रयोग भइरहेको छ । विभागले ३४ र ६६ पृष्ठ गरी दुई किसिमका र सात प्रकारका ई–पासपोर्ट वितरण गर्नेछ । कूटनीतिक राहदानी सिम्रिक रातो, विशेष राहदानी आकाशे नीलो, सर्भिस राहदानी सुन्तला रङको, साधारण राहदानी चकलेटी खैरो, यात्रा अनुमतिपत्र कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो, अस्थायी राहदानी चकलेटी खैरो हुनेछ । अधिक जारी हुने साधारण पासपोर्टमा विदेश भइरहनुपर्ने  नेपाली नागरिकले  ६४ पृष्ठको  ई–पासपोर्ट बनाउँदा सजिलो हुनेछ । यो बायोमेट्रिक पासपोर्ट हो । पासपोर्टमा डिजिटल चिप र एन्टेना पनि राखिएको छ ।

१५ दिनपछि जिल्लाबाटै:-
राहादानी विभागका निर्देशक डोरनाथ अर्यालका अनुसार यहि मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाटै  ई–पासपोर्ट जारी हुने जनाएको छ । जिल्लाबाटै  ई–पासपोर्ट बनाउन सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा तोकिएको फारम भरेर आवश्यक कागजपत्र बुझाउनुपर्नेछ । सेवाग्राहीले बुझाएको कागजपत्र जिल्ला प्रशासन कार्यालयले राहदानी विभागको सर्भरमा अपलोड गर्नुपर्छ । त्यसपछि कागजपत्र जाँच गरी विभागले  ई–पासपोर्ट हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ । ई–पासवर्ड सहज ढंगले उपलब्ध गराउन चौबीसै घण्टा काम हुने विभागका अधिकारीहरूले दाबी गरेका छन् । ई–पासपोर्ट  ७७ वटै जिल्ला प्रशासन कार्यालय, १५ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नियोगहरूबाट जारी गर्ने जनाएको छ ।

ई–पासपोर्ट बनाउन लाग्ने खर्च कति ?
राहदानी विभागले  ई–पासपोर्ट बनाउन लाग्ने दस्तुर फरक फरक तोकेको छ । जसअनुसार ३४ पृष्ठको साधारण राहदानी जिल्ला प्रशासन कार्यालयबाटै बनाउन पाँच हजार  र  साधारण नै  ६६  पृष्ठको बनाउन १० हजार रुपैयाँ दस्तुर तोकिएको छ । विभागमै निवेदन पेश गरी दुई दिन भित्रै  ई–पासपोर्ट लिन चाहानेले  ३४  पृष्ठका लागि १२ हजार र  ६६  पृष्ठका लागि २० हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।  ई–पासपोर्ट हराए, च्यातिए, केरमेट भए वा अन्य कारणबाट प्रयोग गर्न नमिल्ने भएमा थप पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ । म्याद तथा अवधि बाँकी भएको एमआरपी पासपोर्टको अवधि आगामी सन् २०३१ सम्म हुनेछ । तत्कालको लागि एमआरपी विभागको नारायणहिटी स्थित कार्यालयबाटै जारी हुनेछ । विद्युतीय राहदानी भने अहिलेलाई त्रिपुरेश्वरबाट जारी गरिनेछ ।

Facebook Comments