
धादिङको गल्छी गाउँपालिका वडा नं. ७ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वैशाख ६ गते राति करिब ९ः३० बजेको समयमा प्रतिबन्धित लागूऔषध गाँजा तथा चरेशको खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।
प्रहरीले गल्छी–७ स्थित स्थानीय संगम श्रेष्ठको घरमा बसिरहेका बाँकेको कोहलपुर नगरपालिका–१० बस्ने छोटु भनिने कलामुद्दिन अन्सारी र साहिद अलीलाई २ वटा सुटकेशसहित नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा सुटकेश तथा झोलाबाट लागूऔषध गाँजा र चरेश जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। साथै घरको भान्सा कोठामा लुकाइराखिएको थप गाँजा पनि फेला परेको थियो ।
बरामद गरिएको पदार्थ डिजिटल तराजुमा तौल गर्दा कुल १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेश जस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत बरामद गरिएको छ।प्रहरीले घटनामा संलग्न घरधनी संगम श्रेष्ठ, कलामुद्दिन अन्सारी र साहिद अलीलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही जारी रहने जनाएको छ।