
सोमबार बेलुका आएको तीव्र हावाहुरीका कारण रूख ढल्दा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अन्दाजी ३६ वर्षिय सन्दीप गरौंजा मगर रूखले च्यापेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय श्रीराम शाहका अनुसार सोमबार बेलुका आएको हावाहुरीका कारण वडा नम्बर ४ को कालिकास्थान नजिकै रहेको सिमलको रूख अचानक ढल्दा उक्त दुर्घटना भएको हो।
घटनाका कारण अगेरी–बिसौन–कालिकास्थान सडक खण्ड समेत अवरुद्ध भएको छ। ढलेको रूख पन्छाउन केही दिन लाग्ने शाहले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।