मंसिर ३, धादिङ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नारा सहित गत कार्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना २०७८ अगामी ९ मंसिरसम्म चल्ने छ । देशका अधिकांश ठाउँमा यो कार्यक्रम चलिरहेको छ । तर प्रदेश नंम्बर ७ को दार्चुला जिल्ला, व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँमा भने अझै सम्म गणक पुग्न सकेको छैन । आजको दिनसम्म गणकहरूले उक्त गाउँमा जानको लागि भारतले अनुमति नदिएका कारण गणकहरु उक्त गाउँमा जान नपाएको हो । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार जनगणनाका लागि गत कार्तिक २५ गते एक जना गणक पठाउनको लागि भारतको पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो । “एक साता बित्दा पनि उताबाट जबाफ आएन । हामीले पुनः मङ्सिर १ गते दुईजना कर्मचारीका लागि पास माग्यौँ । जबाफ त आयो तर अनुमति पाएनौँ, “जोशीका अनुसार “जुन बाटो हुँदै छाङ्ग्रु पुगिन्छ त्यो बाटो बिग्रिएको भारतीय पक्षबाट जानकारी दिएको छ । दुई महिना अघि भएको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि भने सुपरिवेक्षकहरू सोही बाटो हुँदै छाङ्ग्रु र तिन्कर पुगेका थिए । पहिलो चरणको घरपरिवार सूचीकरण अनुसार त्याहाँको दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन् ।

यता गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले केही दिनमा सडक मर्मत भई अनुमतिपत्र पठाउन सकिने बताए । त्यसो नभएको खण्डमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला जनगणना समन्वयन समितिसँग सहजीकरण गरी जनगणनाका लागि विकल्प खोज्ने जानकारी दिए । जिल्लाको जनगणना अधिकृतको कार्यालयले भने हेलिकप्टरमार्फत भए पनि गणकलाई पु¥याउन र ल्याउन सकिन्छ भन्ने सुझाव सहित केन्द्रीय तथ्याङ्क विभागलाई पत्राचार गरिएको छ ।
अझै गाउँमै छन् छाङ्ग्रु र तिन्करबासी-
हिउँद लागेपछि चिसो र हिमपातका कारण ती दुवै गाउँमा मानिस बस्न नसकिने हुन्छ । प्रत्येक वर्ष तिहार मनाईसकेपछि त्यहाँका मानिसहरु बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा आउँछन् । करिब ६ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँमै फर्किन्छन् । तर यस वर्ष भने छाङ्ग्रु र तिन्करका मानिसहरु अझै सदरमुकाम झरेका छैनन् । कारण वडाअध्यक्ष अशोक सिंह बोहराले यसपटक जनगणनाका लागि मान्छे आउँछन्, त्यो काम सकेर मात्र झर्नू भनेका छन् । तर बिडम्बना यस दुर्गम बस्तिमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन् । आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणना जस्तो महत्वपूर्ण कार्य प्रभावित भएको त्याहाका स्थानीय अधिकारीहरू बताउँछन् । आजको दिनसम्म गणकहरूले उक्त गाउँमा जानको लागि भारतीय अधिकारीसँग हिँड्ने अनुमति पाएका छैनन् । गाउँमा कहिले सम्म गणकहरु पुग्छन् टुङ्गो छैन । धेरै ढिला भयो भने गाउँलेहरु बसाइँ सर्न थाल्छन्, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले भनेका छन् । व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँ करिब १२ किलोमिटरको दूरीमा पर्दछ । यो गाउँ क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा रहेको छ ।

स्रोत : बीबीसी नेपाली सामाचार