८ पौष, धादिङ ।
वर्तमान बागमती प्रदेश सरकारले सत्ता गठबन्धन दलहरुलाई भागबण्डा मिलाउनकै लागि ८ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्याएको छ । अघिल्लो सरकारले ल्याएको महत्वपूर्ण तथा गौरवका योजनाहरु कटौती गरेको छ । मन्त्रालय झण्डै दोब्बरको संख्यामा टुक्रयाएर प्रदेश सरकारलाई बदनाम गरेको र महत्वपूर्ण योजनाहरु कटौति गरेको भन्दै सरकारको विरोध गरेको छ । सरकारको गलत प्रवृतिले बागमती प्रदेशकै बदनाम गरेको भन्दै बुधबारको संसद बैठकमा नेकपा एमालेका सांसदहरुले विरोध सहित संसद बैठक अबरोध गरेको हो ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि बढाएको विद्युतीय बस खरिद सम्झौता र भीमफेदी सुरुङ मार्ग निर्माणको योजना हटाएको थियो । नेकपा एमालेले उक्त निर्णयहरु फिर्ता हुनुपर्ने र फिर्ता नभएसम्म संसद बैठक संचालन हुन नसक्ने बताएका छन् । प्रदेश सभाको बैठक आज पनि ११ बजेको लागि आह्वान गरिएको छ ।
मन्त्रालय झण्डै दोब्बरको संख्यामा वृद्धि, महत्वपूर्ण योजनाहरुको कटौति, स्रोत र साधनहरुको दुरुपयोग, अनियमितता तथा प्रदेश सरकार संचालनमा आवश्यक बजेटको अभाव हुन थालेसँगै एकिकृत समाजवादीबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र प्रसाद पाण्डेको जनस्तरमा आलोचना बढेको छ ।