१६ माघ, २०७८
नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । आदिवासी जनजाति समुदायको मुद्धा, हक, अधिकारका पक्षमा पार्टी र सरकारले सहयोग नगरेको भन्दै उहाँले नैतिक रुपमा पदबाट राजीनामा दिनुभएको हो ।
नेता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा आफ्नो विवेक र क्षमताले सकेसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त नभएको गुनासो गर्नुभएको छ । २०७४ फागुन २७ गते संशोधित विधान अनुसार चार वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म पार्टीको केन्द्रीय कार्यसमितिले विधान स्वीकृत नगर्दा आदिवासी जनजाति संघको महाधिवेशन समयमा गर्न नसकेकोमा पनि दुख व्यक्त गर्नुभएको छ ।