धादिङमा मंगलबारदेखि सप्ताहव्यापी पि.पि.आर खोप अभियान संञ्चालन भएको छ ।

बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धादिङको आयोजना र स्थानीय तहहरुसंगको समन्वयमा मंगलबारदेखी खोप अभियान सुरु भएको हो ।

यो अभियान फागुन २ गते सम्म संञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दीप सिलवालले जानकारी दिनुभयो । अभियानमा २० ओटा भन्दा बढि भेडा/बाख्रा पाल्ने किसानको गोठमे गएर पिपिआर रोग विरुद्धको खोप लगाईने र २० भन्दा कम बाख्रा पाल्ने किसानले भने तोकिएको खोप केन्द्रमा गई आफ्नो भेडा बाख्रालाई खोप लगाउन सकिने उहाँले बताउनुभयो ।

यस अभियानमा धादिङको १३ ओटै स्थानिय तहमा ४९ जना पशु प्राविधिकहरु परिचालन गरिएको प्रमुख सिलवालले बताउनुभयो । धादिङमा ८५ ओटा खोप केन्द्रबाट किसानले पालेका भेडा बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाईने उहाँले बताउनुभयो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले यो वर्ष १ लाख ७ हजार डोज खोप उपलब्ध भएकाले लगभग ५७ प्रतिशत भेडा/बाख्रलाई खोप लगाईने लक्ष्य लिएको छ ।

प्रत्येक ३/३ वर्षमा पिपिआर विरुद्धको खोप लगाईने भएकाले यस अभियानमा सम्पूर्ण सरोकारवाला कृषकहरुलाई ३ महिना माथि उमेर पुगेका स्वस्थ्य भेडा/बाख्रा तथा विगत ३ वर्ष भित्र पिपिआर खोप नलगाईएको भेडा/बाख्रालाई सम्बन्धित स्थानीय तहको खोप केन्द्रहरुबाट खोप लगाउनु प्रमुख सिलवालले अनुरोध गर्नुभएको छ ।

 

पिपिआर रोग:

1) पिपिआर भेडा बाख्रामा विषाणुको कारणले लाग्ने महामारी रोग हो ।

2) नेपालमा आ.व. 2050/51 मा पहिलो पटक देखापरी त्यस पश्चात यसको प्रभावले ठुलो क्षति व्यहोर्नु परेको छ ।

3) यो रोगबाट हुन सक्ने क्षति न्युनिकरण गर्न आ.व. 2058/59 देखि खोप सेवा सञ्चालन हुँदै आएको छ ।

 

रोग सर्ने तरिकाः

रोगी भेडा बाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दानापानी, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट रोग सजिलै सर्न सक्दछ ।

 

रोगको लक्षणहरुः

  • ज्वरो आउने, झोक्राउने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने र उग्राउने छोड्ने
  • आँखामा कचेरा लाग्ने र नाकबाट बाक्लो सिंगान बग्ने
  • सास फेर्न गाह्रो (निमोनिया) हुने
  • गिजा र मुख भित्र घाउहरु देखिने र छेरौटी लाग्ने
  • बथानमा एकै पटक धेरै भेडा बाख्रा बिरामी हुने वा मर्ने ।

 

रोगबाट बचाउन अपनाउनु पर्ने उपायहरुः

  • बाहिरबाट ल्याएका भेडा बाख्रालाई कम्तिमा पनि 10 दिनसम्म घरगोठमा रहेका पशुवस्तुसंग नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने,
  • रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने,
  • रोगी भेडा बाख्राको हेरचाह गर्ने व्यक्तिले अन्य स्वस्थ्य भेडा बाख्राको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता चप्पल फेरेर मात्र गर्ने,
  • आफ्ना भेडा बाख्राहरुलाई हरेक 3/3 वर्षमा अनिवार्य रुपमा पिपिआर खोप लगाउने,
  • जैविक सुरक्षा (Bio security) कडाईका साथ अवलम्वन गर्ने ।

 

Facebook Comments