६ चैत्र, धादिङ ।
उमा सिंखडा नेपालको अध्यक्षतामा एमाले निकट महिलाहरुको संगठन, अखिल नेपाल महिला संघ धादिङको गठन भएको छ । आईतबार सदरमुकाम धादिङबेसीमा सम्पन्न संघको ९ औं जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा १ सय ३० सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । महिला संघको उपाध्यक्षमा उर्मिला रेग्मी र एन्जिला तामाङ, सचिवमा खिल कुमारी पोखरेल तिवारी, उप–सचिवमा हिरा रेग्मी, र कोषाध्यक्षमा सान्नानी बाग्दास चयन भएकी छन् ।


कार्यक्रमा उपस्थित नेताहरुले नेकपा एमालेको सबैभन्दा बलियो जनसंगठन अखिल नेपाल महिला संघ भएको भन्दै, यस संगठनले महिलाहरुको हित र अधिकारको निम्ति धेरै योगदान र पैरवी गर्दै आइरहेको बताउनुभयो । महिला संघले पैतृक सम्पत्तिमा महिलाको समान अधिकार, आमाको नामबाट नेपाली नागरिकता पाउनुपर्ने एवं वंशको आधारमा अधिकारको प्राप्ती, महिलाको पहिचाहन, राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत महिला सहभागीताको सुनिश्चितता, लैंगिक हिंसा विरुद्धका मुद्धामा महिला मैत्री कानुन निर्माण, महिला विरुद्धको विभेद र अन्यायका लागि पैरवी गर्ने संगठन अखिल नेपाल महिला संघ भएको बताएका छन् । आगामी दिनमा अझ महिलाहरु संगठित हुदै आफ्नो छुट्टै पहिचाहन बनाउनु पर्ने, नेतृत्व गर्ने तहमा महिलाहरु स्थापित हुन आफ्नो सिप र क्षमताको विकास गर्दै अघि बढ्नु पर्ने बताए । अबका दिनमा चुनाव केन्द्रित भएर आ–आफ्नो स्थानमा लाग्नु पर्ने साथै आफ्नो पार्टीको उम्मेद्धावरलाइ चुनाव जिताउन महिलाको महत्वपूर्ण भूमिका हुने हुँदा पार्टी सदस्यता तथा संगठन विस्तारमा लाग्न सबैलाइ अनुरोध गरेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा अखिल नेपाल महिला (अनेम) संघका इन्चार्ज सीता पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा, एमालेका स्थायी कमिटी सदस्य, अनेम संघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज सुशीला नेपालको विशेष आतिथ्यता रहेको थियो । साथै पार्टीका केन्दिय सदस्य एवं अनेम संघका केन्द्रिय सदस्य शर्मिला कार्की, एमालेका केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, केन्द्रिय सदस्य तथा पर्टी सह–इन्चार्ज जानुका सिंखडा, नेकपा एमाले प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद डा. रामकुमार अधिकारी, नेकपा एमाले धादिङका सचिव अर्जुन श्रेष्ठ (गोर्खाली), सह–सचिव एवं अनेम संघका केन्द्रिय सदस्य राधिका सापकोटा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम जिल्ला भरिका करिब ५ सय जना महिलाहरुको उपस्थिति रहेको थियो ।