७ चेत्र, धादिङ
धादिङ जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थामा कार्यरत सहकारीका म्यानेजर्सहरु संगठित भएका छन् । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त मिश्रको संयोजकत्वमा ९ सदस्यिय साकोस म्यानेजर्स क्लब धादिङ गठन गरिएको छ । क्लबको सदस्यहरुमा श्रोत परिचालन साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपाल, हाइवे साकोसका व्यवस्थापक ऋषीराम नेपाल, मिलिजुली महिला साकोसका व्यवस्थापक शान्ती आचार्य, जनआकांक्षा महिला साकोसका व्यवस्थापक हरिराम खतिवडा, सहारा महिला साकोसका व्यवस्थापक सन्तोष थापामगर, नीलकण्ठ महिला साकोसका व्यवस्थापक सोना श्रेष्ठ, हिमाल साकोसका व्यवस्थापक नीशा प्रजापती र धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडी रहेका छन् । क्लबले आगामी दिनमा जिल्लामा रहेका साकोसहरुको बिचमा सिकाई आदन–प्रदान, क्षमता विकास लगायतका कार्यहरु गर्ने जनाएको छ ।

आइतबार सदमुकाम धादिङबेसीमा आयोजित एक दिवसिय साकोस कन्क्लेभ कार्यक्रमको आयोजना पश्चात साकोस म्यानेजर्स क्लबको गठन गरिएको हो । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी ज्ञवालीले सहकारी संस्था सञ्चालनका व्यवस्थापकिय पक्षहरु र नितीगत व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै जनकल्याण साकोसका कार्यकारी अधिकृत कृष्णकान्त मिश्रले सहकारी संस्थामा मानव संसाधनको असल अभ्यास र श्रोत परिचालन साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधी नेपालले सकारात्मक दृष्टिकोण सहितको व्यवस्थापकिय भूमिकाको विषयमा कार्यपत्र पस्तुत गरेको थियो । साथै धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीले जिल्लामा साकोस म्यानेजर्स क्लवको आवश्यकता, औचित्य र क्लब सञ्चालन निर्देशिकाको विषयमा आफ्नो प्रश्तुतीकरण राखेका थिए ।

धादिङ जिल्लामा करिब ४ सयकोे संख्यामा सहकारी संघ-संस्थाहरु रहेका छन् । जस मध्ये ९० भन्दा बढिको संख्यामा बच तथा ऋण सहकारी संस्थाहरु  छन् । आइतबार सम्पन्न साकोस कन्क्लेभ कार्यक्रममा जिल्लाका ६० जना सहकारीकर्मीहरुको सहभागीता रहेको धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीले जानकारी दिनुभयो ।

Facebook Comments