
१९ बैशाख,२०७९
धादिङ – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि राजनैतिक दलहरुको चुनावी घरदैलो कार्यक्रम सुरू भएको छ । नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को आजदेखि घरदैलो कार्यक्रम सुरू भएको छ । यस वडामा एमालेले नविन धमलालाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा सदस्यहरूमा कृष्ण प्रसाद लम्साल, कृष्ण बहादुर नेपाली, महिला सदस्यमा धनदेवी गुरूङ र दलित महिला सदस्यमा नैना नेपालीको उम्मेदवारी रहेको छ । आजदेखि सुरु भएको घरदैलो कार्यक्रम निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यतालिका र आचारसंहिता अनुसार मौन अबधी सुरु नहुने समयसम्म जारी रहन्छ ।

वौद्धिक, ईमान्दार, जुझारू, समाजसेवी तथा आम युवा तथा वडाबासीको साझा प्रतीनिधीको रूपमा धमलाको उम्मेदवारी रहेको नेकपा एमालेले जनाएको छ । यस वडामा लामो समयदेखि नेपाली कांग्रेसले सत्ता संचालन गरेको भएपनि वडाको आर्थिक, सामाजिक, शैक्षिक र पुर्वाधार विकासमा चासो नदिएको र समग्रमा वडाको विकासको बाधक नेपाली कांग्रेस नै भएको पनि जनाएको छ । यसका साथै नेपाली कांग्रेसले वडाको विकास निर्माणमा आफ्नो नेता कार्यकतालाई संलग्न गराई नीतिगत अनियमितता गरेको आरोप लगाएका छन् । यस घरदैलो कार्यक्रममा यी सबै कुरालाई चिरेर जान वडावासीलाई सुसुचित गराउने जनाएको छ । यसका साथै नेकपा एमाले भने आफ्नो निती,कार्यक्रम र योजनाको बिषयमा सबैलाई जानकारी गराउँदै मत दिन अनुरोध गरेका छन् । आज हटिया,गुठ,छाप र काफलपानीमा घरदैलो कार्यक्रम गरेको छ ।
नीलकण्ठ ९ को आजदेखि सुरु भएको चुनावी घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघिय सांसद खेम प्रसाद लोहनी, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद डा.रामकुमार अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार गंगादेवी श्रेष्ठ र उपमेयरका उम्मेदवार फन्द्रा तामाङ (रोशन) लगायत नेता कार्यकर्ता र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
यता नेपाली कांग्रेसको वडा अध्यक्षमा भने राजन बराइलीको उम्मेदवारी रहेको छ । नेपाली कांग्रेसमा वडा अध्यक्षको उम्मेदवारको विषयलाई लिएर जिल्ला सभापति रामनाथ अधिकारी र मेयर भीम प्रसाद ढुङ्गाना टीमको बीचमा आन्तरिक अन्तरद्वन्द्व रहेको छ ।