
बैशाख २३, धादिङ
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङमा ७ जना चेपाङले वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । सिमान्तृत चेपाङ समुदायले विभिन्न राजनितिक दलहरुबाट वडा अध्यक्षमा एक महिला सहित सात जना चेपाङले उम्मेदवारी दिएका हुन् । वडा अध्यक्ष उम्मेदवारहरु भन्छन्– ‘सबैलाई हे¥यौं, अब आफ्नो लागि आफैलाई हेरौं । समग्र वडाको विकास, सामाजिक रुपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि हाम्रो उम्मेदवारी हो ।’
शोभा चेपाङले गजुरी गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । एकीकृत समाजवादीबाट वडा अध्यक्ष उठ्नुभएकी शोभा भन्छिन्– ‘पृथ्वी राजमार्गबाट करिब आधि घण्टा दुरीमा रहेको ३ नम्बर वडामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारी जस्ता सबै चिजको कमी छ । आत्मनिर्भर बनाउन आयश्रोत चाहिन्छ । वडाबासीको मूख्य आयश्रोत कृषि हो । तर विचौलियाको कारण हामी मारमा छौं । आधुनिक कृषि प्रणालीबाट वडाबासीको जीवन फेर्न सक्छु । त्यसैले, वडा अध्यक्षमा मेरो उम्मेदवारी हो ।’ उहाँले भन्नुभयो ।
बेनीघाट रोराङ गाउँपालिको वडा नंम्बर ९ मा पनि नेपाली कांग्रेसबाट राजेन्द्र चेपाङ वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । ४२ प्रतिशत चेपाङ रहेको ९ नम्बर वडामा चेपाङ समुदायलाई अहिलेसम्म भोट बैंकको रुपमा मात्र प्रयोग गरे । तर नेतृत्वमा नपु¥याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अबको नेतृत्व हाम्रो हुनेछ । ५ वर्षे रणनिति बनाएर समग्र वडाको विकास र चेपाङ समुदायको सर्वाङ्गिण विकास गर्न मैलै उम्मेदवारी दिएको हुँ ।’

त्यस्तै, नेपाली कांग्रेसका विकास चेपाङले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । वडाका धेरै ठाउँमा विजुली बत्ती र सडक सञ्जाल पुगेको छैन । विकास भन्नुहुन्छ– ‘विकास हुन सडक सञ्जाल र विजुली बत्ति चाहिने रहेछ । तर हाम्रो वडामा आधारभूत आवश्यकताको सहज पहँुच पहिलो आवश्यकता हो । यो उद्देश्य पुरा गर्न मेरो उम्मेदवारी हो ।’
सामाजिक रुपान्तरण आजको आवश्यकता हो । उहाँले भन्नुभयोे– ‘लामो समय भोट बैंक बन्यौं । तर अवको आर्थिक क्रान्तिका लागि हामीले नेतृत्व खोजेका हौं । वडामा चेपाङ, दलित लगायत विपन्न परिवारको बसोबास छ । वडाबासीको कमजोर आर्थिक अवस्था सुधार्ने छौ । मैले जितें भने ५ वर्षकै तलब भत्ता कोष मार्फत विपन्न मजदुर परिवारको स्वास्थ्य क्षेत्रमा लगाउने छु ।’ उहाँले भन्नुभयो
गजुरी ४ र बेनीघाट ८ को अध्यक्षमा चेपाङकै भिडन्त
बेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ मा चेपाङकै भिडन्त हुने भएको छ । ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ र नेपाली कांग्रेसबाट भिमबहादुर चेपाङले उम्मेदवारी दर्ता गराएका छन् ।
आकाश चेपाङ आफुले सञ्चारकर्मी, धादिङ तारा, सांगितिक क्षेत्र र समाजसेवा हुदै वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेको बताउनुहुन्छ । वडाबासीकै चाहना र माग अनुसार वडा अध्यक्षको उम्मदेवारी दिएको हो । उहाँले भन्नुभयो– ‘मलाई हाम्रो पार्टीले विश्वास गरेर टिकट दिएको छ । वडाबासी प्रायःलाई खान लाउनै समस्या छ । हामीले हाम्रो समस्या हामी बुझ्छौं । त्यसैले नेतृत्व तहमा पुग्न र वडामा सामाजिक रुपान्तरण र वडाको विकासका लागि मैले उम्मदेवारी दिएको हुँ ।’ वडाको केहि ठाउँमा विजुली बत्ती, सडक सञ्जाल पुगेको छैन । स्वास्थ्य र शैक्षिक क्षेत्रमा पनि उस्तै समस्या छ । सपनाहरु ठूला र धेरै छन् । तर सानैबाट थाल्नुछ, भोको पेट भर्न पाए मात्रै समृद्धिको कुरा सुहाउने बताउनुभयो ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भिमबहादुर चेपाङ भने गठबन्धनका कारण माओवादीलाई सहयोग गर्नुपर्ने केन्द्रको निर्देशन रहेको बताउनुहुन्छ । तर उहाँ आफ्नो उम्मेदवारीमा अडिक रहेका छन् । सिमान्तकृत समुदायले टिकट पाउनै कठिन छ । पाएकाहरुलाई पनि फिर्ता गराउने खेलमा दलहरु देखिन्छन् । आफु नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार बनेर माओवादी केन्द्रका उम्मेदवार राजकुमार श्रेष्ठलाई सहयोग गर्न नसकिने उहाँको भनाई छ ।
गजुरी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट सुरेन्द्र प्रजा र एकीकृत समाजवादीबाट हर्कबहादुर चेपाङले उम्मेदवारी दिएका छन् । सुरेन्द्र प्रजा एक कार्यकाल वडा अध्यक्ष भैसक्नुभएको छ । वडा अध्यक्षको दरिलो उम्मेदवारको दावी गर्दै उहाँले भन्नुभयो– ‘२०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भैसकेपछि धेरै कामहरु गरेँ । कतिपय योजनाहरु पुरा गर्नु छ । चेपाङ र तामाङ समुदायको ९८ प्रतिशत बसोबास रहेको यस वडामा आधारभूत आवश्यकता र अन्य विकासका बाँकी रहेका योजनाहरु पुरा गर्न आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।’
सडक सञ्जाल, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने वडा अध्यक्ष उम्मेदवार हर्कबहादुर चेपाङले बताउनुभयो । हामी पछाडी पारिएका समुदायमा पर्छाैं । तर नेतृत्व लिएर वडालाई विकासको बाटोमा डोहो¥याउने उहाँको भनाई छ ।