२२ जेठ, २०७९
धादिङ – यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सुचना अनुसार २०७९ सालको असार महिनाभित्र बागमती र गण्डकी प्रदेशका सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ । यो नियम आगामी साउन १ गतेदेखि लागु हुनेछ । साउनदेखि ट्राफिक प्रहरीबाट नियमित सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने जनाएको छ । विशेष प्रविधियुक्त विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । यस्तो प्लेट राखेको गाडी चोरी हुने सम्भावना हुँदैन । साथै यसलाई उप्काएर अर्को हाल्न मिल्दैन । यो राति टाढासम्म देखिने हुँदा दुर्घटना पनि कम हुने गर्दछ ।
सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार प्रकारमा वर्गीकरण गरेको छ । सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ । त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने, कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ ।

सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक प्रधानमन्त्री र मन्त्रीहरुले प्रयोग गर्ने सवारीहरू समेत यी चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमै पर्नेछ । बागमती प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकल लगाएत दुईपाङग्रेमा यस्तो प्लेट जडान गर्न गुर्जुधारा र साना तथा ठूला सवारीसाधनमा जडान गर्न एकान्तकुनास्थित यातायात कार्यालय जानुपर्नेछ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा यस्तो नम्बर प्लेट पोखरामा मात्रै जडान गरिन्छ । विभागले पाँच वर्ष अघिबाटै जडान सुरु गरे पनि हालसम्म जम्मा २५,००० सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको जनाएको छ ।
कति लाग्छ शुल्क ?
सरकारले दुईपाङ्गग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ । ट्रक लगाएत ठूला सवारी साधनमा ३,६०० रुपैयाँ तोकेको छ । विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ ।
यातायात व्यवस्था विभागको अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ । राजश्व चुक्ता छ भने विभागको वेव साइट https://dotm.gov.np/ मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ ।