
२९ जेठ,२०७९
धादिङ — जिल्ला समन्वय समिति (जिसस) धादिङका नवि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ आज एक कार्यक्रमको बीच प्रमाण पत्र सहित सपथ ग्रहण गराएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात जेठ २७ गते (जिसस) को प्रमुख, उप—प्रमुख र सदस्यहरुको मनोनयन दर्ता गर्ने समय तालिका सार्वजनिक गरेको थियो ।
तोकिएको समयमा जिससको प्रमुखमा नेकपा माओवादी केन्द्रका नेता नवराज अधिकारी र उप—प्रमुखमा नेकपा एकिकृत समाजवादीका नेता कुलमान विकको मात्र उम्मेदवारी परेपछि दुवैजना निर्विरोध चयन भएको थियो । त्यसै गरि बाँकि ७ जना सदस्यहरु पनि निर्विरोध चयन भएका छन् । ७ जना सदस्यहरुमा सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी हुन् ।
सदस्यहरु सबै नेपाली कांग्रेसका तर्फबाट चयन भएका हुन । सत्ता गठबन्धन दलहरुले यस अघि नै जिसस प्रमुख माओवादी केन्द्र, उप—प्रमुख समाजवादी र बाँकि सदस्य नेपाली कांग्रेसलाइ दिने सहमति गरेको थियो । जिससमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएका कारण सत्ता गठबन्धन दलका सबैजना निर्विरोध निर्वाचित भएका हुन् ।

२ वटा नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि सत्तागठबन्धन दल बाहेक प्रतिपक्ष दलको एकल बहुमत थिएन ।
धादिङ जिल्लामा नेपाली काँग्रेसको ७ वटा पालिका प्रमुख र ५ वटा उप-प्रमुख गरी १२ सीट, माओवादी केन्द्रको ३ प्रमुख र ५ उप-प्रमुख गरी ८ सीट, एकीकृत समाजवादीको १ प्रमुख र ३ उप-प्रमुख गरी ४ सीट छ भने नेकपा एमालेको २ प्रमुखको २ सीट मात्रै रहेको छ ।
९ सदस्यीय जिल्ला समन्वय समितिमा १ प्रमुख, १ उप-प्रमुख, ३ महिला सदस्य, १ दलित र अल्पसंख्यक समुदायबाट र ३ जना अन्य सदस्य निर्वाचित गरिएको हो ।

जिल्ला समन्वय समितिको काम भनेको जिल्ला भित्रका संघिय / प्रदेशका सरकारी कार्यालय र स्थानीय तहबीच समन्वय गर्ने । जिल्ला भित्रका विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने । स्थानीय तहहरुको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गरि कार्यक्रम संचालन गर्ने ।
प्राकृतिक प्रकोप, विपद्ध व्यवस्थापन सम्बन्धी योजना, राहात, वितरण कार्यमा समन्वय र सहजिकरण गर्ने लगायतका समन्वयिक भूमिकाहरु निर्वाह गर्नुपर्ने हुन्छ ।