३१ जेठ, २०७९

धादिङ – निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाइ ध्यान दिंदै भोली असार १ गते बुधबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । आगामी निर्वाचनमा योग्यता पुगेका कोहि पनि नेपाली नागरिक मतदान गर्नबाट नछुटोस भनेर आ–आफ्नो नाम दर्ता तथा अद्यावधि गर्न आयोगले गत जेठ २३ गते एक सुचना जारी गरि सबैमा जानकारी सहित आग्रह गरेको छ ।

यस कार्यक्रम अन्र्तगत नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम १८ बर्ष उमेर पुगेका नेपाली नागरिक नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछ । यस अवधिमा नयाँ नाम दर्ता, विवरणमा रहेको त्रुटि सच्याउन, नाम हटाउन, ठेगाना तथा मतदान स्थल परिवर्तन गर्न, दोहोरो नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीमा नाम नरहेकोले नाम दर्ता गराउन सक्नेछ । साथै विभिन्न कारणले जिल्ला बाहिर बसोबास गर्ने व्यक्तिले पनि आफ्नो स्थायी ठेगानामा नामावली कायम हुने गरी नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

यस अघि निर्वाचन आयोगले स्थानीय निर्वाचन, २०७९ को मिति घोषणा पश्चात २०७८ साल माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम स्थगित गरेको थियो ।

मतदाता नामावलीमा नामदर्ता गर्ने प्रक्रिया-
१. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ । नागरिकताको प्रमाणपत्रमा रहेको भन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरित्त mदेहायका प्रमाणहरूसमेत पेश गर्नुपर्दछ ।
(क) बसाई सरी आएको प्रमाणपत्र, वा
(ख)  विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र ।
कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्र बाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गा धनि प्रमाण पुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ । उक्त प्रमाणहरु पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले निजसंग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ ।
२. आयोगले तोकेको मतदाता नामावली सङ्कलन फाराम भर्नुपर्नेछ ।
३. तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ ।
४.औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ ।
५. दर्ता सम्पन्न भइसकेपछि दर्ता गर्ने कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाणस्वरूप सुरक्षित राख्नुपर्दछ ।
६. मतदाता नामावली मतदाताको स्थायी बसोबासको ठेगानामा दर्ता गरिन्छ ।

Facebook Comments