
‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङले यो वर्षबाट स्थापना गरेको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ प्रदान गर्न थालेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) को २३ औ स्थापना दिवसको अवसरमा फोनिज धादिङले श्रेष्ठलाई नगद र सम्मान पत्रसहित निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कृत हुनुहुने फोनिज वागमती प्रदेश समितिका कोषाध्यक्ष श्रेष्ठ नागरिक दैनिक र पाविल साप्ताहिकमा कार्यरत हुनुहुन्छ ।

विगत १३ वर्षदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध भई पत्रकारिता मार्फत आदिवासी जनजाती समुदायको सवाललाई सशक्त बनाउन श्रेष्ठले खेल्नुभएको अविछिन्न योगदान प्रति उच्च प्रशंसा गर्दै फोनिज धादिङले पुरस्कृत गरेको हो । अक्षर, आवाज, दृश्य तथा पत्रकारितामा श्रेष्ठबाट अभिव्यक्त दृष्टिकोणले धादिङ र समग्र देशकै समस्त आदिवासी भूमिपुत्रहरुको आवश्यकता उजागर हुँदै आएकोले श्रेष्ठलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको फोनिज धादिङ अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

यसैगरि फोनिजले धादिङले फोनिज धादिङका संस्थापक अध्यक्ष ठाकुर गुरुङलाई सम्मान गरेको छ । जिल्लामा फोनिज स्थापना गरि जनजाती पत्रकारहरु संगठीत गराउन खेलेको महत्वपूर्ण भुमिकाको सम्मान र जनप्रतिनिधीमा निर्वाचित हुनुभएकोमा बधाई दिंदै सम्मान गरिएको हो । सम्मानित हुनुभएका गुरुङ २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
दिवशकै अवसर पारेर नेपाल पत्रकार महासंघलाई पनि फोनिज धादिङले सम्मान गरेको फोनिज धादिङका सचिव रेखबहादुर गुरुङले बताउनुभयो । फोनिजमा आवद्ध पत्रकारहरुको हकहित संरक्षण र क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै पत्रकार महासंघलाई पनि संस्थागत रुपमा सम्मान गरिएको सचिव गुरुङले बताउनुभयो ।
तस्विर : सरिता श्रेष्ठ