धादिङमा कबड्डी खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक निर्णायक (रेफ्री) तालिम हुने भएको छ । धादिङ जिल्ला कबड्डी संघले तालिमको आयोजना गरेको हो । संघले इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि आवेदन दिन आग्रह गरेको छ।

संघका अनुसार धादिङ जिल्लाका १३ वटै पालिकाबाट प्रत्येक पालिकाबाट २/२ जना सहभागी छनोट गरिनेछ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो पालिकाको सिफारिससहित नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। तालिममा कबड्डी खेलका नियम, निर्णायकको भूमिका, व्यवहारिक अभ्यास तथा आवश्यक सैद्धान्तिक विषयहरू समावेश गरिने जनाइएको छ। तालिम अवधिभर अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुपर्नेछ भने सफलतापूर्वक तालिम पूरा गर्ने सहभागीलाई प्रारम्भिक निर्णायक प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ। तालिम शुल्क ८ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सहभागीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्ने भए पनि यातायात खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्नेछ। नाम दर्ता धादिङ कबड्डी संघको कार्यालय वा सम्बन्धित पालिकामार्फत गर्न सकिनेछ। संघले तोकेको म्यादभित्र नाम दर्ता तथा शुल्क बुझाउन अनिवार्य गरिएको छ। 

नाम दर्ताको अन्तिम मिति २०८३ साल वैशाख १७ गते सम्म तोकिएको छ। तालिम सञ्चालन मिति भने २०८३ माघ १८, १९ र २० गते निर्धारण गरिएको छ। तालिम स्थल पछि जानकारी गराइने संघले जनाएको छ। सम्पर्कका लागि रत्नेश कुमार यादव ९८१०२०६९६१ र मनिष श्रेष्ठलाई ९८६९२१३४६१मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

Facebook Comments