
२६ पुस, २०७९
धादिङ – प्रतिनिधि सभाको आज बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । यहि पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको दोस्रो ठूलो दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । विश्वासको मतका लागि कुल १३८ मत चाहिन्छ । आज मंगलबार बस्ने संसदको बैठकबाट विश्वासको मत प्राप्त हुनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क छन् ।
विश्वासको मत लिनका लागि संघिय संसदको पहिलो ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि समर्थन लिन प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएतका नेताहरुसंग भेटघाट र छलफल गरिरहेको छ । आज संघिय संसदको बैठक बस्नु अघि नेपाली कांग्रेसको संसदिय दलको बैठकले प्रचण्डलाइ विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्नेछ ।