
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाए पछि कलेजो प्रत्यारोपण गरिने भएको हो ।
नेपालमा कलेजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताउनुभएको छ ।
पछिल्लो समय पुनको कलेजो कमजोर देखिएको छ । पुनको जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ । मेडिकल उपचार खासै फरक हुँदैन । लिभरलाई किड्नी जस्तो डाइलासिस गरेर हुँदैन । लिभर नै फेर्नुपर्छ । लिभर कमजोर भए फेर्नुको विकल्प हुँदैन ।’ डा.युवराज शर्माले भन्नुभयो ।
किड्नीको प्रत्यारोपण नियमित भएपनि कलेजोको नियमित प्रत्यारोपण हुन नसकेको शर्माले बताउनुभयो। ‘लिभरको प्रत्यारोपण त्यति धेरै भइराखेको छैन । विदेशबाट आएका चिकित्सकले फाट्टफुट्ट गर्ने गरिएको छ । उहाँले कहाँ उपचार गर्ने भनेर सम्पर्कगरी राख्नुभएको छ’ शर्माले भन्नुभयो, ‘नेपालमा लिभर प्रत्यारोपण गर्दा रिक्स हुन्छ । मैले बाहिरै लिभर प्रत्यारोपण गर्न सुझाएको छु । सर्जिकल र स्किलको कुरा पनि हुनसक्छ ।’
पुनलाई कलेजो प्रत्यारोपणका लागि परिवारका सबै सदस्य तयार रहेको शर्माले बताउनुभयो । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने शर्माले बताउनुभयो । अरु देश हेरेर खर्च लाग्ने बताइएको छ । कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना लाग्छ । त्यसपछि २ महिना जति रेष्ट गर्नुपर्छ’ शर्माको भनाई छ ।