माघ २१, धादिङ ।
पशुसेवाका कर्मचारी राजेन्द्र प्रसाद पौडेलमाथी भएको आक्रमणको खनियावास गाउपालिकाका कर्मचारीहरुले विरोध जनाएका छन् । गाउँ पालिकाको पशु विकास शाखाका नायव प्राविधिक सहायक पौडेलमाथि शुक्रवार भएको आक्रमणको कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएका हुन् ।

स्थानिय शक्तिमान भनेर चिनीने गोपाल रिजालले गाली गलौज गर्दै आक्रमण गरेको विज्ञप्तीमा उल्लेख छ । खनियावास गाउपालिका वडा न ५ मा रहेको भुमे आधारभुत विद्यालयको हल भित्र कार्यक्रम सञ्चालन भैरहँदा हातपात र गालिगलौज भएको पौडेलले बताउनुभयो । आरोपी रिजालले यसअघि पनि पटकपटक गालिगलौज र ज्यान मार्नेसम्मको धम्की दिएको पौडेलले बताउनु भयो ।

प्रेस विज्ञाप्ती जारी गर्दै कर्मचारीहरुले राष्ट्रसेवक कर्मचारी विनाकारण पिटिने, पटकपटक ज्याने मार्ने धम्की दिने घटनाले सो क्षेत्रमा खटिएका कर्मचारीको मनोवल गिरेको बताएका छन् । यस्ता घटनाले काम गर्ने वातावरण असहज भएको विज्ञप्तीमा उल्लेख छ । कर्मचारीहरुले घटनाको भत्सर्ना गर्दै पेशागत सुरक्षा र मर्यादाको प्रत्याभुती दिलाइ दोसी उपर कानुनी कारवाही गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरेका छन् ।

देशका दुर्गम तथा विकट क्षेत्रमा भइरहेको कर्मचारी अभावको समस्यालाई यी र यस्तै प्रकारका घटनाले थप मलजल गर्ने र सघिंयता कार्यान्वयनमा जटिलता देखा पर्नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ । कर्मचारी पौडेलमाथि भएको घटनालाई खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले पनि दुःख व्यक्त गर्नुभएको छ । रेडियो धादिङसंग कुरा गर्दै अध्यक्ष तामाङले घटनालाई स्थानीयस्तरमै मिलाउन पहल भैरहेको बताउनु भयो ।

राष्ट्रसेवक कर्मचारीमाथि यस्ता घटना हुनु दुःखद भन्दै तामाङले असहमतिका विषय आपसी छलफलबाट मिलाउन सबैसंग आग्रह पनि गर्नुभएको छ । यो घटनालाई गाउँपालिकाले उचित व्यवस्थान गर्ने र आगामी दिनमा घटना दोहोरिन नदिने भन्दै उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुसंग पनि आग्रह गर्नुभयो ।

Facebook Comments