
धादिङ, १० जेठ- अदालतले २ वर्ष भन्दा बढीसमय मुद्दा फैसला गर्नेसमय राख्न नहुने बताएपनि निरन्तर सुनुवाई गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि ९ वर्षसम्म समय लागेको छ। ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका–५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई जिल्ला अदालतले ६ वर्ष कैद गर्ने फैसला गरेको छ ।
धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले मंगलबार तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो । जिल्ला अदालतले बलात्कार गर्नेलार्ई ६ वर्ष जेल सजायाँ, पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा १ हजार २ सय रकम तिर्र्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
१८ औँ पेसीमा मुद्दा फैसला भएको देखिन्छ । ०७० चैत ३ गते तत्कालिन अवस्थामा ७० वर्षीया महिलालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले ०७१ बैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । पीडित पक्षले उजुरी दिएपनि आरोपित फरारभएका कारण ०७१ मंसिर १० गतबाट मुद्दालाई मुल्तवीमा राखिएको थियो ।
हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेकोमुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो । घटनामा सम्लग्न तामाङ हाल पनि फरार छन् ।