आफ्नै चितामा जल्दै निदाएको वर्तमानलाई

सुनौलो सपनाका त्यन्द्राहरुले

भालेको डाक अघिनै ब्युँझाइदिन्छ

र त्यही अस्तुको खरानी बोकेर निस्कन्छ

गन्तव्य हराएका गोरेटोहरुमा

रहरहरुको एउटा मलामी

रहरै रहरको जिन्दगी पढाउन ..

 

धमिराले छरलाप्पै छोपेको रहरका अस्तिपञ्जरहरुले

सवै भन्दा पहिला सुनिदिन्छन्

रहर गुमाएका मलामीका कथाहरू

र दुवैले शुन्यलाई सुनाउँछन्

मशान नाच्ने मुर्दाघाटामा

रहर सुस्ताएका शरीरहरुमा त के काँडा उम्रिएला र!

खरानी ओडेका पालुवा हरुको विलाप सुनिन्छ

 

अनिच्छाको तन्द्रामा घोप्टदै भए पनि सुनिदिनेहरु त काफी नै छन्

व्यङ्ग्यको खित्का छौड्दै दौडीरहन्छ समय

सेलाएका चिसा रहर बोकेकाहरु

फेरि उही वर्तमान ले जलाएको भस्म !

तछाड मछाड गरेर सुनाउँछन्

रहर खोसिएका तमसुकका कर्कश कहानीहरु

 

रएउटा गोप्य कुनामा फक्रीदै गरेका यौवनमनहरुले

रहरका वसन्तहरु निष्कर्षमा सुनाइरहन्छन्

आशाको सप्पकोले तालु ढाकेर आमा चिहाइरहन्छिन

परेलीमा हत्केला फीजाई बा नियालिरहन्छन्

कुईरोको कोक्रोमा गुजुल्टिएको रहरै रहरको अन्त्य

हरेक विहान जवान रहरहरु पनि त ओर्लिरहन्छन

सिरानी मुनिको गुलाव सिउरिएर

 

राति निदाउन नसकेर ऐंठन भएर के भो?

गुनासाका पुलिन्दा फुकाउँदै

कसले देओस् गुलावी रहरहरु ओइलाउन ?

वर्तमानमा जल्दैमा भविष्यको माटो के मकिन्छ र!

ती बचेराहरु पनी त रहर बोकेर उडीरहन्छन्

थकाइ विसाउदा पनि रहर कै गीतहरू बाड्छन् रे

उभिनै बिर्सेर छायाहरु आफ्नै रहरका कविता गुनागुनाउदै छन्।

 

Facebook Comments