देश र जनताका लागि प्राण त्याग गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा विविध कार्यक्रमका साथ सहिद दिवस मनाउने परम्परा छ ।
सहिदको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने कार्यक्रम तय भएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

शहीद दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीद दिवसले मुलुकमा सुशासन, विभेदरहित समाज निर्माण र दिगो विकासका लागि आआफ्नो क्षेत्रमा इमानदारीसाथ लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र विकास गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ इमानदारीसाथ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।