
धादिङको सदरमुकाम धादिङबेसीमा वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयक विद्धत गोष्ठी सम्पन्न भएको छ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले गोष्ठीको आयोजना गरेको हो ।
बद्री प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमुख डा.निर्मलमणी अधिकारीले वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले आयोजना गरेको बागमती स्तरिय खुल्ला लघुकथा प्रतियोगीताका विजयीहरुलाई शनिबार पुरस्कार वितरण गरेको छ । प्रतियोगीतामा दोलखाका टिकाराम पोखरलेको डोजर र मान्छे शिर्षकको लघु कथा प्रथम भएको थियो । भने ललितपुरका अजय रिसालको प्रेमकी देवी शिर्षकको लघु कथा दोस्रो, काठमाण्डौंका धन्वन्तरी मिश्रको विकृत प्रदुषण तेस्रो र गंगा खड्काको गरिमा लघुकथा सान्तत्वना भएको थियो ।

विजयी लघुकथाका कथाकारहरुलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै कार्यक्रमकै विच टिकाराम पोखरेलले विभिन्न शिर्षकमा लेख्नुभएका पुस्तकहरु नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो ।