काठमाडौं, १० कात्तिक – प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई अनिश्चितता तर्फ धकेल्ने खालका क्रियाकलाप र त्यस्ता प्रचारवाजी कसैबाट हुनु नहुने बताउनु भएको छ । उहाँले निर्वाचन सुनिश्चित गर्ने कार्यमा आयोगलाई सहयोग गर्न सबैमा आग्रह पनि गर्नुभएको छ ।
निर्वाचनको सुरक्षालाई लिएर सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार छलफल गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गराउने वारेमा आयोगलाई शंका नगर्न अनुरोध गर्नुभयो । पछिल्लो समयमा शेरबहादुर देउवा नेतृत्वको सरकारले बिभिन्न बहानामा निर्वाचन सार्न र टार्न प्रयास गरिरहेका बेला उहाँले निर्वाचन मंसीर १० र २१ मा नै हुने भन्दै त्यसमा कसैलाई शंका नगर्न आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतले प्रत्यक्ष निर्वाचनतर्फ प्रदेश र प्रतिनिधि सभाका लागि बेग्लाबेग्लै मत पत्र आवश्यक पर्ने आशयको आदेश दिएपछि त्यसलाई तोकिएको समयमा निर्वाचन नगराउने खेलका रुपमा हेरिएको छ । समानुपातिक तर्फ मतपत्र छपाई भइसकेको र प्रत्यक्षतर्फ बाँकी रहेको अवस्थामा आएको अदालतको आदेशले सरकारको योजनाको प्रतिनिधित्व गरेको शंका गरिएको छ । तर निर्वाचन आयोगले भने त्यस्ता कुनै पनि प्रयास र गतिबिधिप्र िध्यान नदिन अपिल गर्दै आयोग निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अघि बढीरहेको जानकारी दिएको हो ।
व्यवस्थापकिय र प्राविधिक दृष्टिले अत्यन्तै जटिल परिस्थितिमा रहदा रहदै पनि आयोग मुलुकको आवश्यकता, सबै राजनीतिक दल र नागरिकको चाहना अनुसार निर्वाचन गराउने अभियानमा जुटेको बताउनु भयो । ‘निर्वाचनलाई तोकिएको समयमा सम्पन्न गर्न हामीलाई सबै दल र नागरिकको सहयोग चाहिन्छ । आयोग आफ्नो काममा निरन्तर लागेको छ’ उहाँले भन्नुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनको बेला बिभिन्न दलले सुरक्षा निकाय, राज्यका अन्य संयन्त्र र अधिकारीलाई अनुकुल प्रयोग गर्न खोज्ने भएकाले त्यसमा सजक रहन सुरक्षा निकायका अधिकृतहरुलाई आग्रह गर्नुभयो ।