
असोज २३,काठमाडौ
राष्ट्रिय जनता पार्टी (राजपाले) प्रधानमन्त्री केपि शर्मा ओलि समक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि बेला फिर्ता लिनसक्ने चेतावनी दिएको छ । हिजो प्रधानपन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै राजपाले प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएको तीनबुँंदे सहमति कार्यान्वयन नभएको र कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाईलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ । तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार वर्तमान सरकारले लिनुपर्ने भनिएको छ ।
त्यतिमात्र होइन ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै यो सरकारले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षा अनुसार परिणाममुखि काम गर्न नसकेको समेत पत्रमा उल्लेख गरिएको छ ।

राजपाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री केपी ओलीले राजपासँग गरिएको तीनबुँदे सम्झौताको कार्यन्वयन छिट्टै गरिने बताउनुभयो । साथै प्रधानमन्त्री ओलिले आफूलाई कसैले पनि नटेरेको गुनासो गर्नुभएको छ । उहाँका अनुसार ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि सहयोग नगरेको कारण जनअपेक्षा अनुसार काम नभएको बताउनुभयो ।