
असोज २३ काठमाडौ
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक राष्ट्र मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा रहेको छ । नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । भने भूटान तीन खेलबाट दुई अङ्कका साथ पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेलमा पराजय बेहोर्नु परेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो । नेपाल १२ वर्षपछि भूटानसँग आज फेरी खेल्न लागेको हो ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले आउँदो बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।