
माघ १, धादिङ ।
धादिङ सहित ३६ जिल्लाका घले समूदायले मंगलबार एकैसाथ सदरमुकाम धादिङबेशीमा नया वर्षको रुपमा लिःल ल्होसर मनाएका छन् । ‘लिःल फङ्कको अभियान, घले जातीको स्वाभिमान’ भन्ने मुल नाराका साथमा लिल फङ घले समाजको आयोजनामा लिल ल्होसर मनाईएको हो ।
घले समुदायले हरेक वर्षको माघ महिना सूरु भएसँगै ल्हो अर्थात वर्ग फेरिने भएकोले माघ १ गते लिल ल्होसर मनाउने गर्दछन् । पहिलेपहिले ठुलाबडाको आर्शिवाद लिएर मनाइने लिल ल्होसरको प्रचारप्रसार र घलृ समुदायको पहिचानको लागि यो वर्ष धादिङमा ३६ जिल्लाका घले समूदायले मंगलबार एकैसाथ एकैस्थानमा लिल ल्होसर मनाइएको लिलफङ घले समाजका केन्द्रिय अध्यक्ष दिनेश घलेले जानकारी दिनुभयो ।

लिल ल्होसरको अवसरमा आज घले जातिको पहिचान बोकेको चौरीघोडा नाच, लामा नाच लगायतका झाँकीसहित पुछारबजारबाट ¥याली, निकालिएको थियो । धादिङ सहित ३६ जिल्ला र मुलुकबाहिरका १६ देशबाट घलेहरुको सहभागितामा निकालिएको ¥याली धादिङबेशी बजार परिक्रमा परि खुल्ला मञ्चसम्म पुगेको थियो । खुल्ला मंचमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको साथमा ल्होसर मनाइएको हो ।
अध्यक्ष दिनेश घलेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो हकअधिकारका लागि उत्पीडित वर्ग आफै जागरुक हुनुपर्ने बताउनुभएको छ । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले इतिहास संघर्षको उपज भएको बताउनुभयो ।
इतिहास बिन्तीपत्र चढाएर मात्र नपाइएको भन्दै अध्यक्ष दाहालले त्यसका निम्ति जो उत्पीडिन, विभेद, अन्यायमा परेका छन् उनीहरु आफै जागरुक हुन र अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले उत्पीडित समुदायको हकअधिकारलाई सुनिश्चित गर्नका लागि संविधानबाधक नबनेको भन्दै संविधान संशोधन र परिमार्जन गरेर हकअधिकारको सुनिश्चित गर्न सकिने दावी गर्नुभयो ।
आदिवासी जनजातिको सूचीकृत गर्दा घले समूदायमाथि अन्याय भएको भन्दै त्यसमाथि पुनर्विचार गरेर अगाडि बढ्ने दाहालले बताउनुभयो । अध्यक्ष दाहालले कसैलाई विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुन नसक्ने भन्दै सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग र समुदायको हकअधिकारलाई सुनिश्चित गरे मात्र राष्ट्रिय एकता बलियो हुने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रममार्फत नै घले जातिलाई आदिबासी जनजातिमा सुचिकृत गर्न माग गर्दै लिलफङ घले समाजले आजै कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै दाहालले यसको लागि पार्टीको तर्फबाट र सरकारसमक्ष समेत आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।