
माघ ११, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दलको प्रतिरोधकाबीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक–पटक अनशन बस्दै आउनुभएका प्रा. डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा ल्याएको थियो । सरकारले यस विधेयकमा प्रा.डा.गोविन्द केसीले उठाउनुभएको ९५ प्रतिशत माग सम्बोधन गरिएको बताएको छ । पन्ध्रौँ पटकको अनशनका क्रममा सरकार र आफूबीच भएको सहमतिको पूर्ण कार्यान्वयन गर्न दवाव दिन प्रा.डा. केसी अहिले १६ औँ पटकको अनशनमा हुनुहुन्छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने सन्दर्भमा सहमति खोज्ने क्रममा निर्धारीत समयभन्दा करीब एक घण्टा ढिलो अपराह्न २ बजे मात्र बैठक शुरु भएको थियो । सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख महराले कांग्रेसका सचेतक पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो । भुसालको मन्तव्यपछि प्रतिपक्षी सांसदले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख महराले अवरोध नगर्न आग्रह गरिरहनुभएको थियो । तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रसले विरोध गरिरहे र विरोधकाबीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाइ विधेक टेबल गर्न अनुमति दिएको थियो ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतबाट पारित भएसँगै नेपाली कांग्रेसले सरकार दुई तिहाइको बलमा चलाउन सकिए पनि सदन दुई तिहाइका बलमा चलाउन सकिन्न भन्ने कुराको हेक्या सरकारले राख्नुपर्ने र सरकार निशेधको राजनिति गर्न उद्धत भएको कांग्रेसका नेताहरुले प्रतिकृया दिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १७ गते अपराह्न १ बजे बस्नेछ ।