फागुन १३,धादिङ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव बहुमतबाट पारित गरिएको नेपाली कांग्रेसले जनाएको छ । बैठकले महासमितिको बैठकमा उप-सभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सह–महामन्त्री डा.प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति सम्बन्धि प्रस्ताव पनि पारित गरिएको छ ।
तर, पार्टीको महासमिति बैठकको स्पिरिट अनुसार केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट निर्वा्चित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र हुनुपर्ने महासमिति सदस्यहरुको माग भने सम्बोधन भएन । गत पुसमा सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिहरुले यो मागलाई प्रमुख रुपमा उठाएका थिए । महासमितिको बैठक समापनमा पार्टी सभापति देउवाले केन्द्रीय समितिबाट विधान पास गर्दा सम्बोधन गर्ने वचन दिनुभएको थियो । तर हिजो यो दुबै विषयको सम्बोधन हुन सकेन ।

केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, नवीन्द्रराज जोशी, डा.चन्द्र भण्डारी, शङ्कर भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा लगायतका नेताहरुले आफ्नो असमति जनाउँदै फरक मत राखेका छन् । साथै केन्द्रिय समिति बैठकमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूलगायतले हिन्दु राष्ट्रबारे फरक मत राखेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनःबस्ने निर्णय गरिएको छ ।

Facebook Comments