
कात्तिक २२, धादिङ ।
धादिङमा १२ सय हेक्टरमा लागाइएको धानखेती २५ प्रतिशत किसानको घरमा भित्रिसकेको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । यो वर्ष धानखेतीको उत्पादन राम्रो भएतापनि ४ प्रतिशत मात्र उत्पादनमा बृद्धि भएको बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनुभयो । ।केही दिन अघि आएको असिनापानीले धानखेतीमा क्षती पू¥याएकाले उत्पादनमा ४ प्रतिशत मात्र वृद्धि भएको उहाँले बताउनुभयो ।
(नेत्रावती गाउँपालिकामा असिनाले सखाप पारेको धान)

त्यसैगरी धान किसानहरुको मुख्य खेती भएको र अवको १ महिनामा सवै ठाउँमा धान भित्राउने भएकाले धानलाई सुरक्षितका साथ भित्राउन देवकोटाले सवै किसानहरुलाई आग्रह गर्नुभयो । विशेषगरी मंसिर महिनामा सवै किसानहरु धान भित्राउने भएकाले धानलाई राम्ररी काटेर ३ देखि ४ दिन सम्म धाममा सुकाउनु पर्नेमा उहाँले जोड दिनुभयो । धानलाई १२ प्रतिशत भन्दा कम मात्र चिस्यानको आवश्यक पर्ने भएकाले धान झारिसकेपछि पनि सुकाउन सकिने उहाँले बताउनुभयो । धान राम्ररी सुकिसकेपछि कम चिसो भएको ठाउँमा भकारी, ढुकुटिमा हालेर राख्नुपर्दछ । धानमा धेरै जसो धुन र पुतली लाग्ने र यसले पछि गएर खाद्यन्न संकट पनि निम्त्याउने भएकाले धानलाई किराहरुबाट पनि जोगाउन उहाँको सुझाव छ ।

अहिलेको आधुनिक युगमा धानलाई भण्डार गर्नेका लागि विभिन्न स्टिलका टिनहरुको पनि प्रयोग गर्ने सकिन्छ । यसो गर्नाले धानमा किराहरु पनि सजिलै पस्न नसक्ने र धानलाई चिसोबाट पनि बचाउन सकिने उहाँको भनाई छ । त्यसैगरी अहिले धानलाई सुरक्षितका साथ राख्नका लागि झोलाको समेत प्रयोगमा आएको छ । जिल्ला कृषि विकास कार्यलयले पनि केहि समय अगाडि केही किसानहरुलाई धानको सुरक्षाको लागि झोला वितरण गरेको थियो । यसरी झोलामा धान राख्दा मुसाबाट पनि धानलाई जोगाउन सकिने उहाँले बताउनुभयो । त्यसैगरी वरिष्ठ कृषि विकास अधिकृत देवकोटाले किसाहरुको महत्वपूर्ण समय आएकाले आफुले धेरै परिश्रम गरेर लगाएको धानखेतीलाई सुरक्षितका साथ भित्राउन समेत आग्रह गर्नुभएको छ ।