आफ्नो पोखरीमा मरेको माछा देखाउँदै माछा पालक कृषक चन्द्र तामाङ ।

जेठ ७, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ गौंतीमा एक कृषकले पालेको माछा भकाभक मर्न थालेको छ । स्थानिय चन्द्र तामाङले ३ ओटा पोखरी निर्माण गरि पाल्नु भएको माछा मध्ये एउटा पोखरीमा रहेको माहुर जातको माछा सबै मरेको हो ।

सोमबार विहान ४/५ ओटाबाट मर्न सुरु गरेका माछाहरु मंगलबार सम्म सबै मरेको माछा पालक कृषक तामाङले जानकारी दिनुभयो । माछा मर्दा तामाङको लगभग १० लाख बराबरको क्षती भएको छ । माछा मर्न सुरु गरेपछि पशु सेवा कार्यलय धादिङमा जानकारी गराउँदा माछाको विज्ञ नभएकोले हेर्न नमिल्ने जवाफ दिएको तामाङले बताउनुभयो ।

अक्सीजनको कमीले मरेको होला भन्दै पशु सेवा कार्यलयले पनि टार्न खोजे पछि तामाङ थप समस्यामा पर्नुभएको छ । माछाको पोखरीमा कसैले विषादी हाल्देको पनि हुनसक्ने तामाङको भनाई छ । माहुर जातको माछालाई अक्सीजनको कमी हुनै नसक्ने तामाङको दावी छ । एउटा पोखरीको माछा मरेपनि बाँकी २ ओटा पोखरीको माछा बचाउन कतैबाट सहयोग नभएको तामाङले गुनासो गर्नुभयो ।

जग्गा भाडामा लिएर विगत ५ वर्षदेखी माछा पाल्दै आउनुभएका तामाङ भकाभक माछा मर्न थालेपछि चिन्तित बन्नुभएको छ । ऋण खोजेर माछा पालन सुरु गर्नुभएका तामाङलाई अब ऋणको साँवा, व्याँज कसरी तिर्ने भन्ने कुराले पिरोल्न थालेको छ ।

माछा मरेको पिडा त छँदैछ त्यही माथी ति मरेका माछाहरुलाई व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएपछि वरिपरिका छिमिकेहरुको गाली सुन्न परेको तामाङले दुखेसो पोख्नुभयो ।

Facebook Comments