
भाद्र २५,धादिङ ।
भारत र नेपालको संयुक्त लगानीमा निर्मित दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइन आएकोछ । मङ्गलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट रिमोट थिचेर उक्त पाइपलाइनको उद्घाटन गरेको हो ।
प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरेको थियो । तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायु प्रदूषण घट्ने विश्वास गरिएका छन् । साथै प्रधानमन्त्री ओलिले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ ।

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले “विकासका लागि हाम्रो साझेदारीलाई अझै सक्रिय बनाउन र नयाँ क्षेत्रमा सहयोग अझै बढाउन हामीले नयाँ अवसरबाट लाभ उठाएका छौँ । हाम्रो संयुक्त प्रयासको उद्देश्य जनताले लाभ लिऊन् र उनीहरूको विकास होओस् भन्ने हो । साथै दक्षिण एशियामा पहिलो पटक सीमापार पेट्रोलियम पाइपलाइन परियोजना निर्माण भएको भन्दै उनले भने, “छोटो समयमै यो तयार भयो । यसको जस केपी ओलिको नेतृत्व, नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासलाई जान्छ । भनेका छन् । र मोदिले आफु छिट्टै नेपाल भ्रमणमा आउने पनि बताएका छन् ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउन थालेसँगै ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम जोगिने बताइएको छ ।