भिरालो जग्गा, लस्करै प्लाष्टिक घर, लटरम्म फलेका गोलभेडा । खर्वुज, कागती, अलैजी, सुन्तला, काक्रो, खुर्सानी जस्ता तरकारी तथा फलफुल ।

यो कृषि फर्म उत्तरी धादिङमा रहेको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ गैराका बुकबहादुर गुरुङको हो । १७ पटकसम्म भारतिय सैनिकका लागि प्रयास गर्दा असफल भएपछि कृषि कर्ममा लागेर सफल बनेका बुक बहादुर संघर्षको आफै सिंगै किताब हुन् ।
वर्षाैदेखि बस्दै आएको घर भुकम्पले भत्कियो ।

ओतलाग्ने छानो र दुइ छाकको मानो जोहो गर्न गाउँघरमै कृषि पेशा अंगालेको गुरुङ बताउँछन् । आधुनिक अर्गानिक तरकारी तथा फलफुल खेती गरिएको छ । गुरुङले भन्नुभयो– जागिरको शिलसिलामा देश विदेश पुगे । नेपाल र भारतका विभिन्न ठाउँमा कृषि फर्म हेरेपछि नेपालमै सुन फल्ने कुरा थाहा पाएँ ।

गाउँ फर्किएर ग्रीन जोन कृषि फर्म दर्ता गरी २०७२ सालमा १ लाख ५० हजार लगानीबाट कृषि कर्म शुरु गरेँ । त्यतिबेला टनेल, विउ विजनका लागि खर्च भयो । तर अहिले फाइदै फाइदा छ । २२ रोपनी जग्गामा १२ वटा प्लाष्टिक घर बनाएर गोलभेडा खेती गरेको छु । यो पेशामा परिवारको पनि उत्तिकै सजह साथ पाउदा सफलता मिलेको उहाँले बताउनुभयो ।

४ जना कामदार, वार्षिक ५ लाख आम्दानी
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण अधिकाशं मानिसहरु आफ्नो थातथलो फर्केका छन् । यो समयमा धादिङका अधिंकांश युवाहरु कृषि कर्ममा लागेका छन् । वर्षाैसम्म जागिर खोज्दै भौतारिएका बुकबहादुरले थालेको कृषि फर्मबाट हाल ४ जनालाई रोजगारी दिएका छन् ।

गुरुङले भन्नुभयो– गाउँघरमै रहेको राजेगारी ढिलै भएपनि चिनेकोमा खुषी लागेको छ । कृषि प्रधान देश, खेती योग्य जमिन उस्तै प्रकृति हाम्रा लागि देन हुन् । आफ्नै खेतवारीमा सुन फलाइ रहेको छु । कर्मचारीलाई तलब, खानपिन, घर खर्च जस्ता सबै खर्च कटाएर वार्षिक ५ लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

उनले थपे– एउटा गोलभेडाको बोटबाट ६० केजी भन्दा बढी फल्छ । अहिले त खर्च खासै हुदैन, आम्दानी राम्रो छ । कामदारलाई प्रतिदिन ७ सयको दरले दिने गरेको छु । आजको अवस्थासम्म आउन ठूलै संघर्ष गर्नु प¥यो । तर कृषि कर्ममा मात्रै ५ वर्षको अनुभवले आत्मनिर्भर बनाइसकेको गुरुङले बताउनुभयो ।

अर्गानिक उत्पादन भएका कारण गाउँघरमै ठूलो संख्यामा विक्रि हुन्छन् । तरकारी तथा फलफुल किन्न फर्ममै खोजी खोजी उपभोक्ता आउने गरेको गुरुङ बताउनुहुन्छ । गुरुङले भन्नुभयो– विषादीको प्रयोगले मानिसमा रोग बढाइरहेको छ । विषादी हालेको तरकारी खादा उपभोक्ताहरु पनि वाक्क भैसकेका छन् । तर हामी शुद्ध अर्गानिक तरकारी तथा फलफुल उत्पादन गर्छाै । फर्ममा उत्पादन भएको तरकारी धादिङ र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा निर्यात हुने गरेको उहाँ बताउनुहुन्छ ।

१७ पटक भारतिय सैनिकमा असफल बुक बहादुर संघर्षको आफै सिंगै किताव
बुकबहादुर गुरुङका, हजुरबुबा, बुबा, दाजुहरु, दाजुका छोराहरु त्था गाउँका आफन्तहरु सबै भारतिय सेनाको जागिरे हुन् । यसो त उत्तरी धादिङका अधिकाशं मानिसहरु ब्रिटिस, भारतिय सेना तथा वैदेशिक रोजगारमा छन् । बुकबहादुरलाइ पनि भारतिय सेनामा रहेर सेवा गर्ने रहर नभएको कहाँ होर ।

इन्डियन आर्मी बन्न ठूलै संघर्ष गरेको गुरुङ बताउँछन् । गुरुङले भन्नुभयो– गाउँघरमा छोरा हुर्कदै गर्दा सानैदेखि इन्डियन आर्मी बनाउने सपना बुन्छन् । परिवारको चाहना र आफ्नो भविष्य सुन्दर बनाउन भारतिय सेनाका लागि मैले १७ पटकसम्म प्रयास गरे । विडम्बना, म सफल हुन सकिन । १७ पटकसम्म एउटै जागिरमा प्रयास गर्नु जोक होइन ।

कति दुःख गरे सम्झदा पनि जिउ ढक्क फुलेर आउँछ । कमाउने सोचमा १०/१२ लाख भन्दा बढी रकम खर्च भयो । अन्नतः मैले भारतिय सेना बन्ने रहरलाई तिलाञ्जली दिएर गाउँ फर्केँ । मेरो नाम मात्र बुकबहादुर होइन, म आफै संघर्षको सिंगै किताव हुँ भावुक हुदै उहाँले सुनाउनुभयो ।

भारतिय सैनिक बन्ने सपना अधुरै रहेपनि उनलाई पश्चाताप भने भएको छैन । इन्डियन आर्मी नबन्नु नेपाली माटोमा कृषि कर्म गरी रमाउन रहेछ, मुस्कुराउदै सुनाउनुभयो । परिवारसँगै खुषीले दिन वितेका छन् । कृषि कर्ममा सफल बनेका बुकबहादुर गाउँबासी सबैका लागि उदाहरणका पात्र हुन् ।

गुरुङबाटै प्रभावित भएर गाउँमा अन्य किसानहरुले पनि तरकारी तथा फलफुल खेती गर्न थालेका छन् । बुकबहादुर पनि छरछिमेकमा ज्ञान बाड्दै कृषि कर्ममा व्यस्त छन् । कृषि कर्मबाट फेरिएको बुकबहादुरको जीन्दगी, हामी सबैका लागि असल पाठ हो ।

 

Facebook Comments