मंसिर ६, धादिङ ।
धादिङमा बम बनाउँदै गरेको अवस्थामा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त वाम गठबन्धनको कार्यक्रमलाई बिथोल्नका लागि बम बनाउन लागेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई आज बिहान विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

थाक्रे गाउँपालिका ७ का विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता ३७ वर्षीय कृष्ण खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडालाई थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभा बिथोल्नका लागि सकेटबम बनाउन लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायव उपरीक्षक राम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीले उम्मेदवार र चुनावी सभा लगायतलाई विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मी परिचालन गरी सुरक्षाको प्रत्याभूति गरिएको पनि प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनुभयो । धादिङ जिल्लामा यसअघि ५ जना नेकपाका कार्यकर्तालाई चुनावी सुरक्षा अन्तर्गत पक्राउ गरी हिरासतमा राखिएको छ । जुंगेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

Facebook Comments