
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाको सेमजोङमा हुने ११ औ वाका कप फुटबल प्रतियोगिता स्थगित गर्न वडा कार्यालयले आव्हान गरेको छ ।
पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएपछि सरकारबाट नै भिडभाड हुने विभिन्न सभा सम्मेलन, मनोरञ्जनको कार्यक्रम नगर्न आव्हान गरेपछि वडा नम्बर ३ को कार्यालयले पनि वाका कप स्थगित गर्न परिपत्र गरेको हो । वडा कार्यालयबाट खेल स्थगित गर्न पत्र आएको आयोजकले जनाएको छ ।
स्थानीय छार वाका राहा युवा क्लबले यहि चैत्र २१ गते प्रतियोगीताको आयोजना गरेको हो । अन्तिम समयमा वडाको पत्र आएपछि प्रतियोगीता आयोजना गर्नेकी नगर्ने भन्नेमा अन्यौलता सिर्जना भएको क्लबका अध्यक्ष कुमार ब्लेन्देनले जानकारी दिनुभयो । ऐतिहासिक तथा पर्यटकीय स्थल वाका क्षेत्रको प्रचारप्रसार तथा खेलकुदप्रति युवाहरुलाई आकर्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको लागि अहिलेसम्म ५ वटा समूहले दर्ता गराएका छन् । प्रतियोगीताको आयोजना गर्नेकी नगर्ने भन्ने विषयमा क्लवका पदाधिकारीहरु विच छलफल भईरहेको आयोजकले जनाएको छ।
फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।