४ जेठ,२०७८
अरब सागरमा विकसित भएको शक्तिशाली ‘टाउटे’ समुन्द्री तुफानका कारण भारतको पश्चिमी राज्यहरू गुजरात र महाराष्ट्रमा गरी २० जना भन्दा बढि मानिसको मृत्यु भएको छ । करिब दुई लाख घर परिवार मानिसहरु विस्थापित भएको विभिन्न संचार माध्यमहरुले जनाएको छ । गुजरात तटमा झन्डै २०० किलोमिटर प्रति घण्टासम्मको वेगमा तुफान आएको छ । कतै-कतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिएको थियो । सो क्षेत्रमा आएको यो तुफान सन् १९९८ यताकै सबभन्दा शक्तिशाली हो । सप्ताहान्तमा तुफानका कारण आएको वर्षाले केरला, कर्नाटक एवम् गोआ राज्यमा पनि जन धनको क्षति भएको छ । सो क्षेत्रमा सन् १९९८ मा आएको तुफानका कारण ४ हजार मानिसले ज्यान गुमाएको थियो । भारतको राज्य सरकारले तुफानबाट प्रभावित तटीय क्षेत्रमा रहेका मानिसहरुलाइ सुरक्षित स्थानमा जान अनुरोध गर्दै उद्धार कार्य पनि जारी राखेको छ ।

नेपालमा टाउटेको असरः
अरब सागरमा विकसित भएको टाउटे नामको शक्तिशाली तुफानको असर नेपालमा केहि दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा पनि यसको असर सुरु भएको हो । अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको टाउटे तुफान जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु¥याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तुफानले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो । मौसमविदका अनुसार आउँदो शुक्रबारसम्म यसको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।

अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्न समेत महाशाखाले सचेत गराएको छ । अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा पुग्ने यस तुफानको असर नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का तथा मध्यम वर्षा हुनेछ ।

 

 

Facebook Comments