
८ जेठ, २०७८
२०७७ साल पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असहमति जनाउँदै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पदबाट राजीनामा दिएका थिए योगेश भट्टराईले । पार्टीको विवादमा संसद नै विघटन गर्ने प्रधानमन्त्रीको उक्त कदमसँग गम्भीर असहमति जनाउँदै सिंहदरबार छाडेका भट्टराई त्यसपछि तत्कालीन नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको आन्दोलन परिचालन कमिटीका सह–संयोजक भएको थियो । पुस ५ देखि फागुन ११ सम्म आन्दोलनको मोर्चामा होमिएमा भट्टराईलाई प्रधानमन्त्री केपी ओलीले ’वैगुनी केटो’को संज्ञा पनि दिएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्युत्याइदिएपछि उनी माधवकुमार नेपालसँगै पेरिस डाँडाबाट बिदा भएर पुरानै पार्टीमा फर्किए । त्यसपछि माधवकुमार नेपालले ओलीसँगको विवादलाई लिएर एमालेमा समानान्तर कमिटी निर्माण गर्न थाले । चैत ३ देखि ५ सम्म काठमाडौंमा भएको नेपाल पक्षको भेलामा पनि सहभागी भएका भट्टराईले त्यसपछि एमाले एकताको विकल्पहरु खोज्न थाले ।
नेकपा एमालेको २०५४ सालको विभाजन भोगिसकेका उनीसहितका दोस्रो पुस्ताका नेताहरु चैतदेखि नै विवाद मिलाउन सक्रिय थियो । वैचारिक मतभेद भए पनि ओलीले मन पराउने एकजना नेतामा थिए योगेश भट्टराई । माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी खोल्न पनि नसक्ने र माओवादीमा मिल्न पनि नसक्ने जटिल अवस्थाबीच योगेशले दुवै पक्षलाई मिलाउन संवाद थालेका थिए । उनी, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसहितका नेताहरु ओलीविरोधी अभियानमा त थिए तर सँगै एकताको विकल्प पनि खोजिरहेका थिए । गत चैत २ मा धुम्बाराहीमा भएको दुई पक्षबीचको वार्ता उपलब्धिमूलक नभए पनि उनीहरु ओली पक्षका शंकर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङसँग सम्वादमा जुटेका थिए । आरोप प्रत्यारोप र समानान्तर संगठन अनि ओलीको कारबाहीबीच चैतभर गरिएको प्रयासले वैशाखमा सार्थकता पायो । वैशाख ७ गते नेता योगेश भट्टराई बालुवाटार छिरे । पार्टी जोगाउन आग्रहसहित बालुवाटारमा उनले तत्काल माधव नेपालसँग वार्ता थाल्न आग्रह गरेको थियो ।

त्यही आग्रहले काम पनि गर्यो । ओली र नेपालबीच होटल मेरियटमा वैशाख ८ र १० गते दुई चरण वार्ता भयो । कुरा नमिले पनि दुई नेताबीच संवादको ढोका दोस्रो तहका नेताहरुले नै खोलेका थिए । त्यसपछि वैशाख २३ मा योगेश भट्टराई, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसहित दुवै पक्षका नेताहरु होटल याक एन्ड यति र होटल मेरियटमा भेटे । ती वार्ताले ओली–नेपालमाथि दबाब बढाएको थियो । त्यसपछि भट्टराईले एमाले महासचिव ईश्वर पोखरेलसँग पनि पार्टी फुटको डिलमा पुगेको भन्दै मिल्ने उपायका लागि दबाब दिएको थियो ।
दोस्रो तहका नेताबीचको सहमतिअनुसार ओली–नेपालबीच वैशाख ३० मा चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा भएको चार घण्टा लामो वार्तापछि एमाले मिल्ने दिशामा गएको थियो । त्यसलगत्तै वैशाख ३१ ओली–नेपाल सिंहदरबारमा बसेर कार्यदलतर्फ जाने निर्णय लिएका थिए । सोहि अनुसार जेठ २ मा ओली–नेपालले १० सदस्यीय कार्यदल बनाए । कार्यदलले काम गरिरहेकै बेला माधव नेपालले बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्धावार रामबहादुर थापा बादललाई असहयोग गरेर हराइदिए । एमाले मिल्ने दिशातर्फ गइरहेका बेला योगेश,सुरेन्द्र र गोकर्ण सहितका नेताहरु असहयोग गर्ने पक्षमा थिएनन् । उनीहरुले यसो गर्दा एमाले मिल्ने भन्दा फुट्ने दिशामा जाने सुझाएका थिए । तर नेपालले आफूले उठाएको उम्मेदवारलाई जिताउने भन्दै अड्डी कसे । नेपालको यो अडानले बादल हारे भने कार्यदल पनि प्रभावित भयो । एमाले मिलाउन कार्यदलले काम गरिरहेका बेला नेता नेपालले शुक्रबार नयाँ प्रधानमन्त्रीका लागि विपक्षी नेता शेरबहादुर देउवाको पक्षमा उभिने निर्णय लिए ।
उनले यस अघि संसद बोलाउन लिइएको आफू पक्षीय २७ सांसदको हस्ताक्षर लिएर देउवालाई बुझाएका थिए । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा माधव नेपालले आफू पक्षीय कुनै सांसदको हस्ताक्षर लिएको थिएन् ।
तर देउवालाई सघाउने नेपालको निर्णयमा योगेशले गम्भीर असहमति जनाए । पुरानै हस्ताक्षर बुझाइएको थाहा पाएपछि उनले पार्टीको अन्तर संघर्षलाई विपक्षी नेता जिताउने साधनका रुपमा प्रयोग गर्न नहुने भन्दै हस्ताक्षर हटाइदिन भने । उनको त्यो निर्णयअनुसार नेपाल पक्षले उनको हस्ताक्षर देउवालाई सघाउने सांसदको सूचीबाट हटाइदियो ।
त्यसपछि हिजो भट्टराईले सामाजिक संजाल मार्फत मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज नेकपा एमालेको एकतालाइ जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरे इतिहासको कठोर मूल्याङकनमा खडा छु भनेका छन् । साथै उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । यससँगै योगेशले माधव–झलनाथको साथ पनि छाडेका छन् । शुक्रबार उनी मात्रै नभइ अन्य ६ जना सांसदले पनि संसद बोलाउन लिइएको हस्ताक्षर प्रतिपक्षी नेतालाई सघाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए । माधव पक्षीय एमाले नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जयकुमार राईले हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जानकारी ओलीलाई गराएका थिए । देउवालाई सघाउने माधव नेपालको निर्णयका कारण उनको पक्षमा रहेका अन्य नेताहरुले पनि साथ छाड्ने देखिएको छ ।
यो समाचार आज फरकधार अनलाइनमा प्रकाशित गरिएको छ ।