सहकारीले बाढेको मल लिन लाईन लाग्दै किसान ।
खेतीपातीको सिजन सुरु भएसँगै यो वर्ष पनि मल अभाव हुन थालेको छ । धानको विउ लगायतका अन्न वाली र तरकारी खेतीमा मल प्रयोग गर्न नपाउँदा किसान चिन्तित बनेका छन् । बेनिघाट रोराङ गाउँपालिका वडा नं -७ चरौंदि स्थित कृषक सुधार फलफूल तथा तरकारी संकलन सहकारीले वितरण गरेको मल अपुग भएपछि स्थानिय कृषक आक्रोसित समेत बनेको छन् ।
२ सय जना कृषकहरुले मल पाएपनि अन्य बाँकी १ हजार भन्दा बढि कृषक रित्तो हात फर्कनुपरेको थियो । सँधै जसो कृषकलाई आवश्यक परेको समयमा मल पाउन नसकेको राममाया श्रेष्ठले बताउनुभयो । मल र औषधी अभावले कृषकहरुmले हैरानी खेप्नु परेको श्रेष्ठको भनाई छ ।
आफुसँगै आएका अन्य कृषकले मल नपाएपनि लक्ष्मी चेपाङले भने आदी बोरा मल जसोतसो गरेर पाएको सुनाउनुभयो । एक बोरा मल २ जनाले बाडेर लिएकोे चेपाङले बताउनुभयो ।
मल अभाव भएपछि मकै र तरकारी उत्पादन घट्ने भन्दै कृषकले गुनासो गरेका छन् । जब कृषकलाई मल आवश्यक पर्छ सोही समयमा मल अभाव भईरहेको युवराज थपलियाले बताउनुभयो । कोरोना महामारीका कारण गत वर्ष पनि मल पाईएन, यो वर्ष पनि समयमा मल नपाए ७५ प्रतिशत उत्पादन घट्ने थपलियाले बताउनुभयो ।
सहकारीले किसानले माग गरे अनुसार मल वितरण गर्न नसकिएको सहकारी सञ्चालक समितिका सदस्य दिपकान्त थपलियाले बताउनुभयो । सहकारीले ल्याएको १ सय बोरा मल १ बोरा बराबर २ जना कृषकलाई वितरण गरिएको थपलियाले बताउनुभयो ।
अन्य बाँकी कृषकहरुलाई भने वितरण गर्न नसकिएको थपलियाले बताउनुभयो । मल लिनको लागि लगभग १२ सय भन्दा बढि कृषकहरु विहानैदेखि सहकारीमा आएर बसेका थिए । धादिङमा प्रत्येक वर्ष ३ हजार मेट्रिकटन यूरिया मल, ९ सय मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मलको माग हुनेको गरेको कृषि सामाग्री संस्थान शाखा कार्यलय गजुरीको तथ्याङ्क रहेको छ ।

तर हरेक वर्ष माग अनुसारको मल आपुर्ति हुन नसक्दा उत्पालन घट्ने गरेको अवस्था छ । कहिले मलको अभाव त कहिले विभिन्न रोग किराहरुको सक्रमणका कारण बेनिघाटरोराङ गाउपालिकाको विशेष गरि चेपाङ वस्तीमा उत्पादन नभइ खाद्यान्न अभाव हुने गरेको स्थानीयहरुले बताएका छन् । हरेक वर्ष खाद्यान्न अभावकै कारण चेपाङ समुदायका बालबालिकाहरु कुपोषणको सिकार भैरहेका छन् ।
सरकारले यस्ता किसानहरुको लागि समयमै मल र विउ विषादीको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयहरुको माग रहेको छ । वर्तमान सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न निति अघि सारेको छ । सरकारले ल्याएको निति तथा कार्यक्रमहरु कागजमा मात्र सिमित हुँदा किसानको समस्या जहाँको त्यही छ ।
कृषिमा यान्त्रिकरण गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य बोकेको सरकारले सिजन अनुसारको मल समेत किसान समक्ष पु¥याउन नसक्दा कृषि पेशा प्रति नागरिकको सहभागीता कम हुँदै गएको छ । नेपालमा विक्रम संम्वत् २०६८ को कृषि गणनाका अनुसार झण्डै ७० प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेको तथ्याङ्क छ तर अहिले पछिल्लो समय नेपालमा कृषि पेशाबाट पलायन हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो १० वर्षमा १३ दशमलव ५ प्रतिशत किसानहरु कृषि पेशाबाट पलायन भएको सरकारी तथ्याङ्क छ ।