११ असार,धादिङ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका वर्तमान केन्द्रिय महासचिव सुर्य बहादुर गुरुङ आदिवासी जनजाति आयोगको सदस्यमा नियुक्ति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिवार संवैधानिक परिषदको वैशाख २६ गतेको सिफारिस अनुसार नियुक्त गरिएको हो । खोटाङ जिल्ला स्थाई ठेगाना भएका गुरुङ विगत लामो समयदेखि आदिवासी जनजाति अभियानमा सक्रिय रहेको छ । यस अघि आदिवासी जनजाति आयोगको अध्यक्षमा राम बहादुर थापा मगर, सदस्यहरुमा मीन बहादुर श्रीस, रीना राना, शरण राई नियुक्त भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आदिवासी जनजाति आयोगका साथै अन्य विभिन्न १९ जनालाई संवैधानिक आयोगका पदाधिकारीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारीलाई नियुक्त गर्नुभएको हो । त्यस्तै गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगमा सगुन शम्शेर जंगबहादुर राणालाई आयुक्तमा नियुक्त गरिएको हो । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना,सदस्यहरुमा पुष्पराज तिमल्सेना, मानप्रसाद खत्रीलाइ नियुक्त गरिएको छ । त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगमा जया घिमिरे, मधेसी आयोगमा आभा कुमारी, थारू आयोगमा उमाशंकर प्रसाद चौधरी,शान्ति मोदी र मुस्लिम आयोगमा महोम्मद समशुल हक नियुक्त भएका छन ।

शुक्रबार नवनियुक्त आदिवासी जनजाति आयोगका सदस्य एवंम तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय महासचिव गुरुङलाइ उहाँकै कार्यकक्षमा भेट गरी नेपाल आदिवासी जनजाति महासंघ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपाल तमु (गुरुङ ) बिद्यार्थी छोंज धीं, तमु कलाकार संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ सहित तमु विद्यार्थी र तमु कलाकार संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।