नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मंगलबार मनाइएको छ । भानु जयन्तीको अवसरमा मंगलबार सदरमुकाम धादिङबेशीमा अवस्थित भानु पार्कमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।

नेपाली सेना रेडक्रस सोसाइटी र धादिङ सोसियल भोलेन्टियर्सहरुको सकृयतामा मंगलबार भानु पार्कमा सरफाइसँगै विरुवाहरु रोपेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिएको छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ ।

अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।

 

Facebook Comments