२०८३ कार्तिक ७, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा जोखिमपूर्ण रूपमा यात्रु बोक्ने चार सवारीसाधन कारबाहीमा

धादिङमा जोखिमपूर्ण रूपमा यात्रु बोक्ने चार सवारीसाधन कारबाहीमा

चाडपर्वका बेला प्रयोजनविपरीत तथा जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने चारवटा सवारीसाधनलाई धादिङ प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चारवटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको हो।

प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राख्ने, निजी सवारीसाधन (रातो नम्बर प्लेट) मा भाडा लिएर यात्रु बोक्ने तथा सवारीसाधनको छतमा यात्रु राखेर यात्रा गराउने कार्यमा संलग्न सवारीसाधनलाई कारबाही गरिएको हो।

कारबाहीमा पर्ने सवारीसाधनमा बा १६ च ४९१४, बा.प्र.०१-०२६ च ६००८, ग ३ च ८१४२ र बा १३ च ६६०० नम्बरका सवारीसाधन रहेका छन्। ती प्रत्येक सवारीसाधनलाई दुई हजार रुपैयाँका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

जरिवानासँगै सम्बन्धित चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी अनुशिक्षण दिई आगामी दिनमा यस्ता गतिविधि नगर्न र नगराउन सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले चालकहरूलाई सडकको अवस्था बुझेर सुरक्षित रूपमा सवारी चलाउन, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, यात्रुसँग तोकिएको दररेटभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रहरीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै प्रयोजनविपरीत तथा जोखिमपूर्ण तरिकाले सवारी नचलाउनसमेत सबै चालकलाई अपिल गरेको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल